असार ३१ : सुदूरपश्चिमका चार वटा स्थानीय तहले अझै अगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट ल्याउन सकेका छैनन्। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०६४ ले तोकेको समय नाघेको २० दिन बितिसक्दा पनि यहाँका चार स्थानीय तह बजेट ल्याउन असफल भएका हुन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आईतबार सम्म सुदूरपश्चिमका ८४ स्थानीय तहले मात्र आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट गाउँ तथा नगरसभामा पेश गरेका छन्। चार स्थानीय तह भने नयाँ आर्थिक वर्ष सुरु हुने बेला समेते बजेट ल्याउन असफल भएका छन्।

कानून अनुसार स्थानीय तहले असार १० गते भित्रै बजेट ल्याईसक्नुपर्छ। तर कञ्चनपुरको कृष्णपुर नगरपालिका, दार्चुलाको व्यास गाउँपालिका, बाजुराको बुढिगंगा नगरपालिका र बैतडीको पुर्चौडी नगरपालिकाले अझै बजेट नल्याएको संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले जनाएको छ। निर्धारित समय भित्र बजेट ल्याउन नसकेका स्थानीय तहको संघिय सरकारबाट पाउने अनुदान प्रभावित हुने भएको छ।