अछाम :पञ्चदेवल विनायक नगरपालिकामा बेरोजगार भएको फाराम भर्नेको संख्या ७ हजार ५ सय ४३ पुगेको छ ।
रोजगार सेवा केन्द्रका अनुसार नगरपालिकाको वडा नं. १ मा ५३८, वडा नं. २ मा ५८४, वडा नं. ३ मा ६३७, वडा नं. ४ मा ११०४, वडा नं. ५ मा ७०९, वडा नं. ६ मा १२१४, वडा नं. ७ मा ९९४, वडा नं. ८ मा १२०५ र वडा नं. ९ मा ५५८ जनाले आफू बेरोजगार भएको भन्दै न्यूनतम रोजगारीका लागि फाराम भरेका हुन् ।

रोजगार संयोजक भरतराज अधिकारीका अनुसार फाराम भरेका ७ हजार ५ सय ४३ जनाको नाम रोजगार सेवा केन्द्रमा सूचिकृत गरिएको छ ।
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेपछि न्यूनतम १०० दिनको रोजगारी दिने घोषणा गरेपछि कार्यक्रमप्रति उत्साह बढेको हो । यसबर्ष ३० दिनको रोजगारीका लागि सरकारले बजेट विनियोजन गरिसकेको छ । पञ्चदेवल विनायक नगरपालिकामा ४७ लाख बजेट विनियोजन भएको छ जसबाट यस आर्थिक वर्षको असार मसान्तभित्रमा २१६ जनाले ३० दिनको रोजगारी पाउने भएका छन् ।
नगरका सबै वडाहरुमा छनोट गरिएका आयोजनाहरुमा सम्बन्धित वडा कार्यालयले छनोट गरेका २१६ जनाले ३० दिन काम गर्दे दैनिक ५१७ का दरले पारिश्रमिक पाउने भएका छन् ।