२ असार । एकदिवशीय विश्वकप अन्तर्गत सोमबार इंग्ल्याण्डको टाउनटनमा बंगलादेश र वेष्ट इण्डिज आमने सामने हुँदा दुवै टोली आफ्नो लय भेट्टाउने प्रयासमा हुनेछन् । दुवैले प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेका थिए, तर त्यसयता लगातार हारिरहेका छन् ।दुवै टोलीले ४ खेलबाट ३ अंकमात्र जोडेका छन् । सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना कायम राख्न दुवैलाई जितको बिकल्प छैन ।
बंगलादेशको बलिङ आक्रमण यो विश्वकपमा प्रभावकारी देखिएको छैन । पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरे पनि बाँकी खेलमा बलरहरु दवावमा देखिएका छन् ।

ब्याटिङ पक्ष भने मुख्यतः सकिव अल हसनकै आसपास देखिन्छ । जो ब्याटिङक्रम सुधार गरी तेस्रो नम्बरमा आएका थिए । इंग्ल्याण्डबिरुद्ध शतकका बाबजुद टिम पराजित भएको थियो ।
वेष्ट इण्डिजबिरुद्धको जितका लागि बंगलादेशले सबै क्षेत्रमा सुधारिएको प्रदर्शन गर्नुपर्छ । प्रतियोगितामै कमजोरमध्येको एक मानिएको बंगलादेशका लागि यो खेल आफ्नो क्षमता देखाउने अवसर पनि हो ।
वेष्ट इण्डिजको बलिङ आक्रमण यो विश्वकपकै शशक्त मानिन्छ । तर, उसको ब्याटिङ अहिलेसम्म त्यस्तो देख्न पाइएको छैन जसको अपेक्षा गरिएको छ ।
इंग्ल्याण्डबिरुद्धको पछिल्लो खेलमा ३० ओभरमा १४४÷४ को अवस्थामा रहेको वेष्ट इण्डिज ४५ ओभरमा २१२ रनमा समेटिएको थियो । यसबाट के प्रष्ट हुन्छ भने उसका ब्याट्सम्यानहरुले लय लिन सकिरहेका छैनन् ।
वेष्ट इण्डिज टिम ओपनिङ बलर सेल्डन कोट्रेल र हार्ड हिटर आन्द्रे रसेलको चोटका कारण पनि चिन्तित छ । यी दुईले पछिल्लो खेलमा ५ ओभरमात्र बलिङ गर्न सकेका थिए ।
टाउनटनको मौसम बिहान घाम लाग्ने र दिउँसो बदली हुने अनुमान गरिएको छ । सानो मैदानमा धेरै रन बन्ने अअनुमान गरिएको छ ।