आइसीसी एकदिवसिय विश्वकपमा अहिले अष्ट्रेलिया र बंगलादेश विच प्रतिस्पर्धा भइरहेको छ । जसमा अष्ट्रेलियाले टस जितेर ब्याटिङको निर्णय गरेको छ । बंगलादेशको टिममा दुई जना खेलाडी परिवर्तन भएका छन । मोहम्मद सैफुदिन र मोसादेक हुसेनको स्थानमा सब्बिर रहमान र रुवेल हसन टिममा परेका छन ।
यस्तै अष्ट्रेलियन टिममा तीन जना खेलाडी परिवर्तन गरिएको छ । मार्कुस स्टोनीस, जाम्पा र नाथन नील टिममा फर्किएका छन । सन मार्स, बेहेड्रोफ र रिचार्डसनलाई आराम दिइएको छ ।

बंगलादेशले ५ खेलमा २ उत्कृष्ट जित निकालेको छ । यही दुई खेलको प्रदर्शनलाई अष्ट्रलियाबिरुद्ध पनि निरन्तरता दिन सके बंगलादेशले अर्को अप्रत्यासित जित हासिल गर्न सक्छ ।
पछिल्लो खेलमा वेष्ट इण्डिजबिरुद्ध विश्वकपकै दोस्रो सर्बाधिक रन चेजसहितको जित निकालेको बंगलादेशले दक्षिण अफ्रिकालाई पनि पराजित गरेको थियो ।
यता साविक विजेता अष्ट्रेलियाले भने पाँच खेलमा ४ जितका साथ सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाइसकेको छ । उसले भारतबिरुद्ध मात्र पराजय ब्यहोरेको थियो ।
डेभिड वार्नर, आरोन फिन्च र स्टिभ स्मिथको ब्याटिङ तथा मिचेल स्टार्क र प्याट कुमिन्सको बलिङ पछिल्ला ५ खेलमा अष्ट्रेलियाका लागि निर्णायक रहँदै आएको छ । पछिल्लो खेलमा श्रीलंकाबिरुद्ध कप्तान फिन्चले १५३ रनको शतकीय पारी खेलेका थिए ।
बंगलादेश धेरै हदसम्म भेट्रान अलराउण्डर सकिव अल हसनको प्रदर्शनमा निर्भर हुनेछ, यसअघिका खेलहरुमा पनि उनी नै निर्णायक थिए । आईसीसी एकदिवशीय बरियतामा शीर्ष स्थानका अलराउण्डर ३२ वर्षीय सकिवले अहिलेसम्म २ शतकसहित ३८४ रन प्रहार गरिसकेका छन् । जुन यस विश्वकपमा अहिलेसम्मकै सर्बाधिक हो ।