नेपाली राष्ट्रिय क्रिकेट टिमले मलेसियासँग दुई वटा टी–२० खेल खेल्ने पक्का भएको छ । सिंगापुरमा हुने आइसीसी टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोट अगाडी राष्ट्रिय टिमले मलेसियामा १० दिनको क्याम्प राख्न लागेको हो । यो विचमा नेपालले मलेसियाको राष्ट्रिय टिमसँग दुई वटा खेल खेल्ने पक्का भएको हो ।
नेपाली राष्ट्रिय टिमका ब्यवस्थापक रमन सिवाकोटीले मलेसियासँग दुई वटा खेल खेल्ने पक्का भएको र मितीका बारेमा शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिने बताए । यसका साथै उनले राष्ट्रिय टिमको अन्तिम नामावलीपनि शनिबार नै दिने संभावना रहेको बताए ।

जुलाई २२ देखि २८ तारिखसम्म हुने विश्वकप छनोटका लागि नेपाली टिम यतिबेला तयारीमा ब्यस्त रहेको छ । जसलाई भारतबाट आएका प्रशिक्षक उमेश पटवालले प्रशिक्षण दिइरहेका छन ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारसँग खेल्नेछ । यो प्रतियोगिताको विजेता टिमले युएईमा हुने विश्वकपका लागि अन्तिम छनोटमा स्थान बनाउनेछ । यो प्रतियोगिताको नेपाल प्रमुख दावेदारका रुपमा हेरिएको छ ।