आइसीसी एकदिवसिय विश्वकपमा पाकिस्तानले अफगानिस्तानलाई तीन विकेटले हराएको छ । जितसँगै पाकिस्तानले सेमिफाइनलको संभावना बलियो बनाएको छ । यसका साथै पाकिस्तान पहिलो पटक शिर्ष चारमा उक्लिएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२७ रन बनाएको हो ।

अफगानिस्तानका लागि असगर अफगान र नजिबुल्लाह जर्दनले समान ४२–४२ रन बनाएका थिए । यस्तै रहमत साहले ३५ रन जोड्दा इकरम अलिखिलले २४ रन बनाएका थिए ।
पाकिस्तानका लागि सइन्सा अफ्रिदीले सर्वाधिक ४ विकेट लिँदा इमाद वसिम र वहाव रियाजले समान दुई दुई विकेट हात पारे । जारी प्रतियोगितामा सफल बलर मध्येका एक मोहम्मद आमिर भने अफगानिस्तानविरुद्ध विकेटविहीन बनेका थिए ।
जवाफमा पाकिस्तानले ४९ ओभर चार बलमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । खराव सुरुवात गरेको पाकिस्तानले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो । उसका ओपनर फकर जवान शुन्य रनमा नै आउट भए ।
त्यसपछि दोस्रो विकेटका लागि इमाम उल हक र बाबर अजाम विच ७२ रनको साझेदारी भएको थियो । जसमा इमाम ३६ रनमा आउट भए । तर त्यसपछि उसले अरु दुई विकेट सस्तैमा गुमायो । बाबर अजाम ४५ रनमा आउट भए भने मोहम्मद हफिज १९ रनमा पेभेलियन फर्किए ।
त्यसपछि हरीस सोहेलपनि २७ रनमा आउट आउट हुन पुगे । कप्तान सरफराज अहमदपनि १८ रनमा बाहिरीदा पाकिस्तानले एक सय ५६ रनमा ६ विकेट गुमायो । अन्तिममा इमाद वासिम र सहदाव खानले ५० रनको साझेदारी गर्दै टिमलाई जितको नजिक पुर्याए । जसमा सादाब खानले ११ रन बनाए ।
त्यसपछि वाहेब रियाज र वासिमले पाकिस्तानलाई जित दिलाए । जसमा वाहेबले अविजीत १५ रन बनाए भने वासिमले ४९ रनको योगदान गरे ।