१९ असार । लगातार उल्लेखनीय प्रदर्शनका बाबजुद अफगानिस्तान जारी एकदिवशीय विश्वकपमा जितबिहीन छ ।
विश्वकप अभियानको सुखद अन्त्यको लक्ष्यसहित उसले लिग चरणको अन्तिम खेलमा वेष्ट इण्डिजको सामना गर्दैछ ।
विश्वकपको यो खेल अर्थहीन हो किनभने दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । दुवैले प्रतिष्ठाको रुपमा लिएको खेल लिड्समा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । पाकिस्तानबिरुद्धको खेल वास्तवमै सानदार थियो । भारतसँग पनि उनीहरु जितनजिक पुगेका थिए । गुल्बादिन नइवले नेतृत्व गरेको टिमले निर्णायक क्षणमा खेल आफ्नो पकडमा राख्न असफल रहे ।

अफगानिस्तानका स्पिनरहरुले लगातार उत्कृष्ट प्रदर्शनका साथ आफ्नो प्रतिष्ठा कायम राखे । फाष्ट बलर र ब्याटिङमा भने अझै सुधार गर्नुपर्ने देखियो । किनभने उनीहरु महत्वपूर्ण क्षणमा योगदान गर्न चुके ।
वेष्ट इन्डिजबिरुद्ध मैदानमा उत्रँदा अफगानी टोली अधिक आत्मविश्वासी हुनेछन् । किनभने उनीहरुका लागि क्यारेवियन टोली नौलो प्रतिद्वन्द्वी होइनन् । पछिल्लो चारमध्ये ३ खेलमा वेष्ट इण्डिज पराजित भएको छ । गतवर्ष विश्वकप छनोटको फाइनलमा अफगानिस्तान ७ विकेटले पराजित भएको थियो ।
वेष्ट इण्डिजले यस विश्वकपमा अहिलेसम्म अफगानिस्तानले जस्तो अलराउण्ड प्रदर्शन गर्न सकेको छैन । पाकिस्तानबिरुद्धको पहिलो खेलमा ७ विकेटको जितपछि उनीहरुले अहिलेसम्म जित्न सकेका छैनन् । तर सेल्ड्रन कोट्रेलले बलिङमा सानदार प्रदर्शन गरिरहेका छन् ।
ब्याट्सम्यानहरुले लामो इनिङ्स खेल्न सकेका छैनन् भने ठूलो साझेदारी बनाउन सकिरहेका छैनन् । कप्तान जेसन होल्डरले विश्वकपको आफ्नो अन्तिम खेलमा सबै टिममेटबाट शतप्रतिशत प्रदर्शन चाहन्छन् ।
हिडिङलीको पीचमा दोस्रो ब्याटिङ गर्ने टिमलाई कठिन बनेको पछिल्ला खेलहरुमा देखिएको छ । त्यसैले आजको खेलमा पनि टस महत्वपूर्ण हुनेछ ।