एसीसी यू १९ इस्र्टन रिजन च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज घरेलु टिम मलेसियासँग खेल्नेछ । किनरारा ओभल मैदानमा नेपालले मलेसीया विरुद्धको जितको यात्रालाई निरन्तरता दिदै उपाधि उचाल्ने लक्ष्य राखेको छ ।
समुह ए को विजेता नेपाल र समुह बी को उपविजेताका रुपमा सेमिफाइनल पुगेको मलेसिया विचको खेल नेपाली समय अनुसार विहान पौने आठ बजेबाट सुरु हुनेछ । नेपालले समुह चरणमा चीनलाई १० विकेट र सिंगापुलाई दुई सय १७ रनले हराएको थियो ।
यता मलेसियाले भुटान र थाइल्याण्डलाई हराएपनि समुहको अन्तिम खेलमा हङकङसँग पराजित भएको थियो । जसका कारण उसको सेमिफाइनलमा नेपालसँग भेट भएको हो ।

अघिल्लो संस्करणको इस्र्टन रिजन च्याम्पियनसिपमा नेपाल र मलेसिया सेमिफाइनलमा भिडेका थिए । जसमा नेपालले मलेसियालाई १० विकेटल हराएको थियो । यस्तै तीन महिना अगाडी मलेसियामा नै भएको यू १९ विश्वकप छनोटमा पनि नेपाल र मलेसियाको खेलमा नेपालले बाजि मारेको थियो । जसमा नेपालले मलेसियालाई आठ विकेटले पाखा लगाएको थियो ।
यो प्रतियोगिताको उपाधि दावेदारका रुपमा रहेको नेपाल र मलेसिया विचको खेलमा मौसमको मुख्य चुनौती छ । मलेसियाको मौसम विभागले सोमबार पनि पानी पर्ने जनाएको छ । तरपनि पानी परेमा पनि नेपालले फाइनलमा स्थान बनाउनेछ । समुह चरणमा नेपालको जुन रनरेट रहेको छ, त्यसका आधारमा उसले फाइनलमा स्थान बनाउनेछ ।
सेमिफाइनलमा नेपालले केहि खेलाडी परिवर्तन गर्न सक्नेछ । नेपालले मलेसिया विरुद्ध समुह चरणको पहिलो खेलमा चीनसँग खेलेको पिचमा नै खेल्नेछ । त्यसैलेपनि स्पिनरलाई बढि प्राथमिकता दिनसक्ने संभावना रहेको छ । चीन विरुद्ध सागर ढकालले यहि पिचमा ६ विकेट लिएका थिए ।