२४ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी ट्वान्टी ट्वान्टी विश्वकपका लागि एसियाली छनोट च्याम्पियन हुने लक्ष्य लिएको छ । पाँच टोली सम्मिलित प्रतियोगिता सिंगापुरमा हुँदैछ । यस प्रतियोगिताको विजेता टोली युएईमा हुने ग्लोबल छनोटका लागि योग्य हुनेछ । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म आयोजना हुनेछ ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले नेपाली टोलीलाई शुभकामनासहित बिदाई गरे । बिदाई कार्यक्रममा सदस्यसचिवले क्रिकेट विवाद छिट्टै समाधान गरी आईसीसीको निलम्बन फुकुवा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
१४ सदस्यीय नेपाली टोली मंगलबारै मलेसिया जानेछ । नेपालले मलेसियाको सिनियर टोलीसँग जुलाइ १२ र १४ मा दुई अन्तर्राष्ट्रिय ट्वान्टी २० क्रिकेटको शृंखला खेल्नेछ । त्यसपछि टोली सिंगापुर जान लागेको हो ।

कप्तान पारस खड्काले प्रतियोगितामा कमजोर बरियताका टोलीहरु रहे पनि आफूले शतप्रतिशत प्रदर्शनको प्रयास गर्ने बताए । प्रतिस्पर्धीलाई कमजोर नआँक्ने भन्दै उनले राम्रो क्रिकेट खेल्ने बताए । प्रशिक्षक उमेश पटवालले पनि टिमको तयारी राम्रो भएको र उपाधि दावेदारको हैसियदमा प्रदर्शन हुने बताए । उनले मलेसियासँगको शृंखलाले पनि टिमको तयारीमा सकारात्मक नतिजा आउने बताए ।
एशिया छनोटमा नेपालसँगै सिंगापुर, कुवेत, मलेसिया र कतार छन् । नेपालले पहिलो खेल जुलाई २३ मा कतार, जुलाई २४ मा मलेसिया, जुलाई २७ मा कुवेत र जुलाई २८ मा सिंगापुरबिरुद्ध प्रतिस्पर्धा गर्नेछ ।