अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले जिम्बावे क्रिकेटलाई निलम्बन गरेको छ । क्रिकेटमा राजनैतिक हस्तक्षप भएको जनाउँदै आईसीसीले निलम्बनको निर्णय गरेको हो । लण्डनमा भएको आईसीसी बोर्ड बैठकले जिम्बावेको क्रिकेटलाई निलम्बन गर्नुका लागि सबैभ अनुदानहरु पनि रोकेको छ भने कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पनि बन्देज लगाएको छ ।
‘खेललाई राजनीतिमा मुछेका कारण यो निर्णयमा पुगेका हौं,’ आईसीसीका अध्यक्ष शशांक मनोहरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।‘आईसीसीको विधानसँग बाझिने गतिविध जिम्बावेमा भएको थियो, जसलाई हामी नजरन्दाज गर्न सक्दैनौं ।’

यसअघि जिम्बावेको खेलकुद तथा मनोरञ्जन आयोगले त्यहाँको बोर्ड निलम्बन गर्दै तदर्थ समिति बनाएको थियो । बोर्डको प्रशासनमा अनियमितता तथा भ्रष्टाचार भएका कारण सरकारले यस्तो निर्णय गरेको थियो । तर, त्यसलाई आईसीसीले सरकारी हस्तक्षप देख्यो ।
आईसीसीले जिम्बावे क्रिकेटका पदाधिकारीलाई यो मुद्धा तीन महिनाभित्र समाधान गर्नका लागि अल्टिमेटम दिएको छ । आईसीसीको बोर्ड बैठक अक्टोबरमा हुनेछ र सो बैठकमा पुनरावलोकन गर्न सकिने बताइएको छ ।
आईसीसीले क्रोएसिया र जाम्बियाको क्रिकेट बोर्डलाई पनि निलम्बन गरेको छ भने आईसीसीको मापदण्ड नपुगेको भन्दा मोरक्कोको क्रिकेट बोर्डलाई निष्कासन गरेको छ ।