आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताका लागि मलेसियामा तयारी भ्रमण सकेर भोली नेपाली टिम सिंगापुर जाँदैछ । १० दिने मलेसिया भ्रमणमा नेपालले घरेलु टिमसँग दुई खेलको टि–२० श्रृङ्खला पनि खेल्यो । दुबै खेल जित्दै नेपाली खेलाडीमा आत्मविश्वास पनि बढेको पाइएको छ ।
सिरिजमा नेपाली ब्याट्सम्यानहरुले पनि राम्रो प्रदर्शन गरे । जसमा कप्तान पारस खड्का, शरद भेषावकर र विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गरे । बलिङ युनिटका सबै सदस्यको प्रदर्शन उत्कृष्ट रह्यो । सोमपाल कामी, करण केसी र सन्दिप लामिछानेसँगै भेटरान बलर बसन्त रेग्मीले पनि आफ्नो अनुभव र क्षमता प्रदर्शन गरे ।

कप्तान पारस खड्काले मलेसियाको समग्र अभ्यास भ्रमण निकै फलदायी रहेको बताउँछन् । ‘दुईवटा राम्रो म्याच पनि खेल्यौं । ट्रेनिङ र कन्डिसनमा अभ्यस्त हुन पनि यो भ्रमण हाम्रा लागि निकै राम्रो रह्यो,’ कप्तान खड्काले भने । ‘यदी नेपालमा भएको भए पानीले गर्दा तयारी गर्न पनि पाउँदैनथ्यौं,’ पारसले थपे ।
‘नेपाली क्रिकेट अघि बढाउन हामी जिउ ज्यान लगाउनेछौं । सबै खेलाडीले मेहनत गरिरहेका छन् । फेरी एक पटक अर्को चरणमा पुग्ने आशा छ,’ पारसले भने ।