सिंगापुर, ११ साउन । आईसीसी ट्वान्टी–२० विश्वकपको एसिया छनोट जित्नका लागि नेपाललाई अब एक जित आवश्यक छ । त्यो हो, सिंगापुर । आइतबार हुने खेलमा घरेलु टोली सिंगापुरलाई पराजित गर्न सके नेपाल छनोट चरणको एसिया च्याम्पियन बन्नेछ ।
पाँच टोली सम्मिलित प्रतियोगिता राउन्ड रोविन लिग प्रणालीमा खेलाइएको छ । सर्बाधिक अंक जोड्नेले उपाधि जित्नेछ । पहिलो खेलमै कतारसँग अप्रत्यासित पराजय ब्यहोरेको नेपालले त्यसयताका २ खेलमा जित हासिल गरेपछि उपाधि होडमा फर्किएको हो ।

नेपाल र घरेलु टोली सिंगापुरसँगै कुवेत, मलेसिया र कतार सम्मिलित प्रतियोगितामा नेपाल उच्च वरीयताको टोली हो । आफ्नो बाहेक अन्य टोलीबीचको खेलमा अनुकुल नतिजा नआएपछि नेपालको यात्रा थप सहज बनेको हो ।
सिंगापुर र कुवेतबीचको खेल वर्षाले रद्ध हुनु, कुवेतले कतारलाई पराजित गर्नु, सिंगापुरले मलेसियालाई हराउनु लगायतका परिणाम नेपालकोे लागि अनुकुल थियो ।
अंकतालिकाका सिंगापुर ५ अंकसहित शीर्ष स्थानमा छ भने नेपालको ४ अंक छ । कुवेत ३, मलेसिया र कतार २÷२ अंकसहित अन्तिम २ स्थानमा छन् । नेपालका लागि आइतबार हुने सिंगापुरबिरुद्धको खेल फाइनलसरह हुनेछ ।
एसियाली छनोटको विजेता टोलीले अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म युएईमा हुने ग्लोवल क्वालिफायरमा स्थान बनाउनेछ ।