क्यानडामा जारी ग्लोबल टी २० क्रिकेट लिगमा सोमपाल कामी आबद्ध विनीपेग हक्सले सन्दिप लामिछाने रहेको टोरन्टो नेश्नल्सलाई तीन विकेटले पराजित गरेको छ । क्यानडामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको टोरन्टोले २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १६ रन बनाएको थियो ।
भारतीय खेलाडी युवराज सिंहको कप्तानीमा रहेको टोरन्टोले सन्दिपलाई आज बेन्चमा राखेको थियो । यहि खेलका लागि सन्दिप सिंगापुरबाट टी २० विश्वकपको एशिया छनोट सकिएको केहि घण्टामा क्यानडा उडेका थिए ।

टोरन्टोका लागि रोद्रिगो थोमसले ६५ रन बनाए भने युवराज सिंहले ४५ तथा कायरन पोलार्डले विस्फोटक ५२ रन बनाए । पोलार्डले २१ बलमा तीन चौका र ५ छक्का प्रहार गरेका थिए । बलिङमा ड्वायन ब्राभोले चार विकेट लिए ।
जवाफमा सोमपालको टिम विनीपेगले २० ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसका शिर्ष तीन खेलाडीले मात्र दोहोरो अंक बनाएपनि जित निकाल्न सफल भयो । जसमा उनसका लागि क्रिस लियोनले विस्फोटक ८९ रन बनाए । जसमा उनले ४८ बलमा दुई चौका र १० छक्का प्रहार गरेका थिए ।
यस्तै सेइमन अनवरले ४३ तथा सन्नी सोहलले ५८ रन बनाए । उसको जितमा सन्नी सोहल र क्रिस लियोन विचको सतकीय साझेदारी नै जितको आधार बन्यो । दोस्रो विकेटका लागि लियोन र सोहलविच एक सय १७ रनको साझेदारी भएको छ । यो खेलमा विनीपेगका सोमपाल पनि बेन्चमा रहेका थिए । यो जितले विनीपेगले तीन खेलमा चार अंक बनाउँदै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।