नेपाललाई पहिलो पटक टी–२० मा हराएर पहिलो पटक नै विश्वकपको ग्लोबल छनोटमा पुगेको सिंगापुरले फेरी नेपालसँग त्रिकोणात्मक सिरीजको योजना बनाएको छ । विश्वकप छनोटको अन्तिम चरण खेल्न अगाडी सिंगापुर क्रिकेट संघले नेपाल र पपुवा न्युगिनीलाई बोलाएर त्रिकोणात्मक सिरीज गराउने योजना बनाएको हो ।
सिंगापुरमा नै हुने सो प्रतियोगिता सेप्टेम्बर महिनामा गर्ने सिंगापुर क्रिकेट संघको योजना छ । एशिया छनोटको उपाधि जितेपछि सिंगापुर क्रिकेट संघका सिइओ सान सान र संघका विकाश अधिकृत अर्जुन मेनन र अरु पदाधिकारी बसेर नेपाल र पपुवा न्युगिनीलाई बोलाएर सिंगापुरमा त्रिकोणात्मक सिरीज गराउने प्रारम्भिक टुंगो लगाएको थियो । तर कुन मितीमा गराउने भन्ने एकिन आगामी दिनमा हुने विकाश अधिकृत अर्जुन मेननले बताए ।

ग्लोबल छनोटको तयारीपनि हुने र राम्रो अभ्यास पनि हुने भएकाले नेपाल र पीएनजीलाई सिंगापुरमा बोलाएर त्रिकोणात्मक सिरीज गर्ने योजना बुनेको छ । तर यसका लागि सिंगापुर क्रिकेटले आइसीसीसँग स्विकृती लिनुका साथै पीएनजी क्रिकेट र नेपाली क्रिकेट टिमलाई आग्रह कहिले गर्छ त्यो टुंगो छैन । यसका साथै सिंगापुर क्रिकेट संघले नेपालमा हुने फ्रेन्चाइजी लिगको मिती नजिक नपारेर यो प्रतियोगिता गर्न सक्नेछ ।
तर यो सिरीजका लागि नेपाल र पीएनजी खेल्न तयार हुने हुन की होइनन् त्यो पनि अर्को पक्ष रहेको छ । सिंगापुर क्रिकेट एसोसियसनले बनाएको यो योजना प्रारम्भिक मात्र हो । यसको विकाशक्रम दुई तीन साता भित्रमा अगाडी बढ्नेछ ।