एजेन्सी, २७ साउन । ग्लोबल टी २० क्यानडाको उपाधि नेपाली खेलाडी सोमपाल कामीको टिम विनिपेग्स हक्सले जितेको छ । गएराति भएको फाइनलमा भ्यानकुभर नाइटमाथि सुपर ओभरमा जित निकाल्दै उपाधि जितेको हो । फाइनल खेलमा पनि सोमपाल भने टिममा परेनन् ।
विनिपेग्सले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर १९२ रन बनाएको थियो । साइमान अनवरले ९० तथा क्रिस लिनले ३७ रनको योगदान गरे । भ्यानकुभर नाइटका आन्द्रे रसेलले ४ विकेट हात पारे ।

१९३ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको भ्यानकुभर पनि निधारित २० ओभरमा ६विकेट गुमाएर १९२ रनमा रोकिए । सुरुआत राम्रो गर्न नसके पनि भ्यानकुभरका कप्तान सोयब मल्लिक र आन्द्र्रे रसेलले उत्कृष्ट पारि खेले । मलिक ६४ रन बनाएर आउँट हुँदा रसेल ४६रनमा नट आउट रहे ।
सुपर ओभरमा पहिला ब्याटिङ गरेको भ्यानकुभरले २ विकेट गुमाएर ९ रन बनाएको थियो । सुपर ओभरको पहिलो बलमा आन्द्रे रसेलले छक्का प्रहार गरेका थिए । दोस्रो बलमा एक रन लिए । तेस्रो बलमा लेग बाई मार्फत १ रन आएको थियो ।चौथो बलमा रसेल आउट भएका थिए । पाँचौं बल डट भयो भने छैटौं बलमा भान डुर सेन आउट भए । १० रनको लक्ष्य पछ्याएको विनिपेग्सले २ बल बाँकी छँदै पुरा गरेको थियो ।