एसीसी यू १९ एसिया कपका लागि नेपाली टिम श्रीलंका प्रस्थान गरेको छ । प्रतियोगिता सेप्टेम्बर ५ तारिखमा सुरु हुने भएपनि नेपाली युवा टिम अभ्यास खेलका लागि अगाडी नै श्रीलंकाका लागि गएको हो । घरेलु मैदानमा दुई साताको तयारी पनि टिम तयार पारेर श्रीलंकामा तीन अभ्यास खेलका लागि नेपाली युवा टिम निर्धारीत मिती भन्दा पहिले नै गएको हो ।
श्रीलंकाको वाताबरणसँग भिज्न र प्रशिक्षणका साथै स्थानीय क्लवसँगको अभ्यासका लागि नेपाली टिम गएको हो । नेपालले श्रीलंकामा अभ्यासका साथै ए डिभिजन क्लवसँग अभ्यास खेल्नेछ । नेपाली युवा टिमलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले शुभकामनासहित विदाई गरेका हुन । उनले टिमले राम्रो गर्नेमा विश्वस्त रहेको बताएका थिए ।

यस्तै टिमका कप्तान रोहित पौडेलले घरेलु तयारी सोचेको जस्तो नभएपनि आफुहरुले श्रीलंकामा अन्तिम तयारी गरेर एसिया कपमा राम्रो गर्ने बताए । उनले टिममा यसपटक सबै अनुभवी खेलाडी रहेकाले एसिया कपमा मिफाइनलसम्म पुग्ने संभावना रहेको समेत बताए ।
यस्तै प्रशिक्षक विनोद दासले टिमले योजना अनुसारको तयारी नपाएपनि पछिल्लो केहि महिना देखि टिमको सेटअप राम्रो रहेकाले एसिया कपमा राम्रो नतिजाको अपेक्षा गरेको धारणा राखे । नेपालले एसिया कपको तयारीका लागि एसीसीसँग सुरुवातमा भारतमा प्रशिक्षणका लागि आग्रह गरेको थियो ।
तर एसीसीले त्यो प्रस्तावलाई अस्विकार गरेपनि श्रीलंकामा नै पाकिस्तान र अफगानिस्तानसँग अभ्यासका लागि अनुरोध गरेको थियो । तर एसीसीले सो आग्रहलाई पनि संभव नभएको बताएपछि स्थानीय क्लवसँग अन्तिममा अभ्यास खेल खेल्ने तय भएको हो ।
समुह बी मा रहेको नेपालले पहिलो खेलमा श्रीलंकासँग सेप्टेम्बर ६ तारिखमा खेल्नेछ । त्यसपछि ८ तारिखमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश रहेको छ । समुहको अन्तिम खेलमा नेपालले सेप्टेम्बर १० मा युएईसँग खेल्नेछ । समुहका दुई शिर्ष टिमले सेमिफाइनलमा स्थान बनाउनेछन । साे विदाइ कार्यक्रममा एसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरे समेत उपस्थित थिइन ।
एसिया कपका लागि नेपाली टिम
कप्तान रोहितकुमार पौडेल, रित गौतम, पवन शर्राफ, मोहम्मद आशिफ शेख, सन्दीप जोरा, भीम सार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी, सागर ढकाल, खडक बहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम र प्रतिस जिसी । प्रशिक्षक विनोद दास, म्यानेजर राजु खड्का, ब्याटिङ प्रशिक्षक अपुर्भा देसाई, फिजियो बिक्रम न्यौपाने र ट्रेनर सुवास पात्रो ।