ओपनर रोहित शर्माको शतक तथा युज्बेन्द्र चाहलको चार विकेटको मद्धतमा भारतले इंग्ल्यान्ड र वेल्समा जारी विश्वकपको आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई छ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।
तेश्रो खेल खेलेको दक्षिण अफ्रिकाको भने यो लगातार तेश्रो हार हो । दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा आयोजक इंग्ल्यान्डसँग १०४ रन तथा दोश्रो खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको थियो ।

जीतका लागि २२८ रनको सामान्य स्कोर पक्ष्याएको भारतले ४७ दशमलब तीन ओभरमा चार विकेटको नोक्सानीमा जीत हात पार्यो ।
भारतको जीतमा ओपनर रोहित शर्माले अविजित रहँदै सर्वाधिक १२२ रन बनाए । १४४ बलको सामना गरेका उनले १३ चौका र दुई छक्का प्रहार गरे । शर्माले तेश्रो विकेटका लागि केएल राहुलसँग ८५, महेन्द्र सिंह धोनीसँग ७४ तथा बिराट कोहलीसँग ४१ रनको शाझेदारी गर्दै भारतको जीत सुनिश्चित गरे ।
त्यस्तै भारतका अन्य ब्याट्सम्यानमा विकेट किपर महेन्द्र सिंह धोनी क्रिस मोरिसको बलमा कट एण्ड बोल्ड हुनु अघि ४६ बलमा ३४ रन, केएल राहुल ४२ बलमा २६ रन, विराट कोहली ३४ बलमा १८ रन तथा अर्का ओपनर शिखर धवन आठ रन बनाएर पेभेलियन फर्किय । त्यस्तै अविजित रहेका हार्दिक पाण्डयाले पनि अविजित रहँदै सात बलमा १५ रन प्रहार गरे ।
दक्षिण अफ्रिकाका कागिसो रबडाले सर्वाधिक दुई विकेट लिए ।
यस अघि खेलमा टस जीतेर पहिले ब्याटिंग गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा नौं विकेट गुमाएर २२७ रनको सामान्य योगफल बनाउन सक्यो ।
३९.३ ओभरमा १५८ रनको अवस्थामा आफ्नो महत्वपुर्ण छ विकेट गुमाएको दक्षिण अफ्रिकाको पारी सम्हाल्ने क्रममा आठौं नम्बरमा ब्याटिंग गर्न आएका क्रिस मोरिस र कागिसो रबडाले सातौं विकेटका लागि आठौं विकेटका लागि ६६ रनको शाझेदारी गरे । मिलर ३४ बलको सामना गर्दै एक चौका र दुई छक्काको मद्धतमा ४२ रन बनाएर पेभेलियन फर्किए भने रबडा ३५ बलमा ३१ रन बनाउँदै अविजित रहे ।
दक्षिण अफ्रिकाका ओपनरद्व हसिम अमला र क्विन्टन डि कक क्रमसः छ तथा १० रन बनाएर जसप्रित बुम्राको शिकार हुँदै खराब शुरुवात गर्यो । कप्तान फाफ डु प्लेसिस ३८, एन्डिल फेहलुक्वायो ४३ तथा डेविड मिलर ३१ रन बनाउँदै युज्बेन्द्र चाहलको बलमा आउट भए पछि दक्षिण अफ्रिका दबाबमा पर्यो ।
दक्षिण अफ्रिकाको पारी धोस्त पार्ने क्रममा युज्बेन्द्र चाहलले सर्वाधिक चार विकेट लिए भने जसप्रित बुम्रा र भुब्नेश्वर कुमारले पनि समान दुई-दुई विकेट हात पारे ।