धनगढी– शनिबार दिउँसोको करिव चार बजेको समयमा सिमावर्ती कंचनपुरको डोकेबजारस्थित एक सेकुवा सेन्टर बाहिर सरकारी नम्बर प्लेटको स्कारपियो रोकिएको थियो। बा२झ ४२२७ नम्बरको उक्त स्कारपियो बझाङको मष्टा गाउँपालिका को रहेको पाइएको छ।केही समयपछि उक्त गाउपालिकाका अध्यक्ष कर्णबहादुर कठायतसहित पाँच जनाको टोली मदिराले लठ्ठ परेर होटल बाहिर निस्कियो। टोली गाडीमा बसेर हिड्न के खोजेको थियो संचारकर्मीको नजरमा परिहाल्यो। शनिबारको दिन त्यसैमा दिउँसै सरकारी नम्बर प्लेटको गाडी सेकुव सेन्टरमा के कामले लगिएको हो त ?
भनेर प्रश्न तेस्र्याउँदा अध्यक्ष र अरु चार जना कोहीले पनि मुख खोलेनन्। गाडी चालकले भने नास्ता खाएर फर्किएको बताए। त्यसको केही बेरमा धनगढी फनसिटी नजिक सरकारी नम्बर प्लेटको से१ब ३१९ नम्बरको मोटरसाइकल एक बालकले चलाउँदै गरेको अवस्थामा भेटिए। ती बालकले उक्त मोटरसाइकल कैलाली भन्सार कार्यालयको भएको बताए। उनी मोटरसाइकल चलाउन सिक्दै थिए। यस्तै केही हप्ता पहिले कंचनपुरको शुक्लाफाटा राष्ट्रीय निकुञ्जमा म१झ ११० नम्बरको सरकारी नम्बर प्लेटको गाडी शनिबारको दिन महिला तथा बालबालिका बोकेर निकुञ्जमा सफारी गर्दैगर्दा भेटियो। उक्त गाडीले दिनभर निकुञ्ज सफारी गरेको थियो।

यी प्रतिनिधि उदाहरण मात्र हुन्। बेलुकीपख बजारका मदिरा पसल अगाडी सरकारी नम्बर प्लेटका थुप्रै सवारी साधन भेटिने गरेका छन्। कतिपय सरकारी मोटरसाइकल बिना हेल्मेट, तीन÷तीन जनासम्म राखेर हुइक्कि रहेका पनि देखिन्छन्। पछिल्लो समय जन प्रतिनिधिका आफन्तहरू र अन्य असम्बन्धित मान्छेहरूले सरकारी गाडीको चरम दुरुपयोग गरिरहेका छन्। गाडी चलाउन नजान्ने जनप्रतिनिधि र उनीहरूका आफन्तले सरकारी गाडी सिक्न थालेका दृश्यहरू जताततै देख्न पाईन्छ। बिहीबार मात्र बझाङको जयपृथ्वी नगरपालिका–७ का वडा सदस्य नरेश महरको मोटरसाईकल सिक्ने क्रममा दुर्घटनामा परी ज्यान गएको छ।