२६ असार अछाम – लगातार दुई दिनको अविरल वर्षासँगै साँफे–मार्तडी राजमार्ग सडक अवरुद्ध बनेको छ । लगातारको वर्षाले बार्जुगाड खोला हुँदै मार्तडीसम्म पुग्ने सडकको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएसँगै यातायातका साधनसमेत आवतजावत गर्न समस्या भएको जय मालिका यातायात बस व्यवसायी पृथ्वी रावलले बताए ।
उनले बार्जुगाड हुँदै गुईगाड खोलाको पुल नजिकै, बल्दे, अम्कोट, तिपाडालगायतका ठाउँमा माथिबाट पहिरो आएपछि यातायात सडक अवरुद्ध बनेको बताए । आज बिहानैबाट ठाउँठाउँमा पहिरो आएपछि लामो दूरीका बस बाम्का बजारभन्दा माथि आउन नसकेको यात्रु विजयनारायण यादवले बताए । राजमार्गका सडक अविरल वर्षाका कारण अवरुद्ध बनेको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिए ।

अवरुद्ध सडक सञ्चालन गर्न सडक डिभिजन कार्यालय साँफेलाई खबर गरी कार्यालयबाट जेसिभी पठाईएको उनले बताए । साँफे–मार्तडी राजमार्ग सडक अछाम जिल्लाका बुढा बगरलगायतका ठाउँमा पनि पहिरो गएकाले पहिरो पन्छाउन सडक डिभिजन कार्यालयलाई खबर गरिसकेको प्रजिअ न्यौपानेले बताए ।
मार्तडी–कोल्टी सडक बन्द
जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक पनि वर्षाले अवरुद्ध बनेको छ । लगातारको वर्षाका कारण उक्त सडकसहित विभिन्न ग्रामीण सडक अवरुद्ध बनेका छन् । पानी आएपछि माथिबाट पहिरो खस्ने भएकाले मार्तडी–घटमुना सडकसमेत अवरुद्ध बनेको हो ।
यस्तै ग्रामीण भेगमा खनिएका सडक पनि अवरुद्ध बन्दै गएका छन् । मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा उत्तरी भेगका स्थानीयले सास्ती भोग्दै आएका छन् । बाटो अप्ठ्यारो भएकाले आवतजावत गर्न निकै कठिन हुने गरेको यात्रुको गुनासो छ । सडक समयमै निर्माण नहुँदा यहाँका स्थानीयले वर्षायाममा पैदलयात्रा गर्न बाध्य हुने गरेका छन् ।
जथाभावी खनिएका सडकले जिल्ला पहिरो उच्च जोखिममा परेको जिल्ला दैवी प्रकोप उद्धार समिति बाजुराले बताएको छ । प्राविधिकरूपमा चेकजाँच नै नगरी खनिएका सडकले पहिरो निम्त्याउने भएपछि जिल्लावासी त्रसित बन्दै गएका छन् । रासस