अछाम : अछामको तुर्माखाद गाउँपालिकाका अस्थायी कर्मचारीहरुले विभिन्न ९ बुदे माग राख्दै गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन ।
समितीका अध्यक्ष हर्क बहादुर बुढाको नेतृत्वमा गएको कर्मचारीहरुको टोलीले गाउँपालिका अध्यक्ष डम्बर बिसीलाई ज्ञापनपत्र बुझाएका हुन ।

ज्ञापन पत्रमा कर्मचारीको तह अनुसार समान तलबभत्ताको ब्यवस्था गर्नुपर्ने, गाउँपालिकाले अस्थायी तथा करार कर्मचारीहरुलाई दुरीको पहिचानगरि आवसको अनिवार्य ब्यवस्था गर्नुपर्ने, गाउँपालिकाका अस्थायी तथा करार कर्मचारीहरुलाई कामको मुल्याङकन गर्दै पुरस्कृत गर्नुपर्ने, स्थायी कर्मचारी सरह विदाको ब्यवस्था गर्नुपर्ने लगायतका मागहरु ज्ञापन पत्रमा उल्लेख गरिएका छन ।
ज्ञापन पत्र बुझ्दै गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले अस्थाई तथा करार कर्मचारीहरुका माग जायज भएको भन्दै माग पुरागर्न आफु सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
कर्मचारीले बुझाएको ज्ञापन पत्रका बिषयमा आगामी कार्यपालिकाको बैठकमा छलफलको बिषय बनाउने अध्यक्ष बिसीको भनाई छ ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा स्थानीय तह अस्थायी तथा करार कर्मचारी हकहित मंचका अध्यक्ष हर्क बहादुर बुढा, प्रदेश उपाध्यक्ष कमल बहादुर बुढा, जिल्ला सल्लाहाकार समितीका संयोजक भिम बहादुर चलाउने, सुचना प्रविधि अधिकृत कृष्ण बहादुर सोडारी लगायतको सहभागिता रहेको थियो ।