अछाम । कालिकास्थानका विनोद शाही मृत्यु प्रकरणले उग्र रूप लिन थालेपछि प्रशासनले जिल्ला सदरमुकाम मङ्गलसेनका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषण गरेको छ।
जिल्ला प्रशासन कार्यालय अछामले दरबार क्षेत्र, जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय, वैरागी धारा बस काउन्टर, मङ्गलसेन नगरपालिका कार्यालय तथा कृषि ज्ञान केन्द्र आसपासको जिप काउन्टर क्षेत्र भित्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

निषेधित क्षेत्रमा कुनै पनि विरोधका कार्यक्रम नगर्न÷नगराउन भनिएको छ । यस्तै, निषेधित क्षेत्र तोकिएका ठाउँमा बाधा अवरोध नगर्न र निषेधित क्षेत्र उल्लङ्घन गरेको पाइएमा कानूनी कारबाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जेठ १७ गतेदेखि बेपत्ता पञ्चदेवल विनायक नगरपालिका ४ कालिकास्थानका १६ वर्षीय किशोर विनोद शाही २२ गते गाउँ नजिकैको भिरमा मृत भेटिएका थिए ।
हत्या भएको भन्दै परिवारले दिएको किटानी जाहेरीका आधारमा पञ्चदेवल विनायक नगरपालिका नगर प्रमुख अम्बिका चलाउनेसहित ७ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
