कमला खत्री, साउन १४ अछाम
समयमा सम्पत्ति विवरण नबुझाउने अछामका १६२ जना शिक्षक कारवाहीमा परेका छन । आर्थिक वर्ष २०७४÷७५ को सम्पत्ति विवरण नबुझाउने १६२ जना शिक्षकलाई ५ हजारका दरले जरीवाना बुझाउन शिक्षा विकास तथा समन्वय इकाइले आग्रह गरेको हो ।

विद्यालय किताबखानाको परिपत्रअनुसार सम्पत्ति विवरण नबुझाएका शिक्षकलाई ५ हजार जरीवाना तिर्नकालागि सबै स्थानीय तहमा जानकारी पठाईएको शिक्षा विकास तथा समन्वय ईकाई अछामका निमित्त प्रमुख डम्मर रावलले जानकारी दिनुभयो ।
रावलले भन्नुभयो, ‘आर्थिक वर्ष २०७४÷७५ को सम्पत्ति विवरण नबुझाउने शिक्षकहरुको सूची हामी कहाँ आइपुगेको छ । उनीहरुले ५ हजार जरिवाना तिर्नुपर्ने हुन्छ, हामीले कारबाहीमा परेका शिक्षकको बिवरण सबै तहमा पठाईसकेका छौं ।’
प्रावि, निमावि र मावि तहका गरि कुल ७९० जना स्थाई शिक्षक मध्ये सम्पति बिवरण नबुझाउने प्राविका १३५ जना, निमाविका १९ जना र मावि तहका ८ जना शिक्षक कारबाहीमा परेका शिक्षा विकास तथा समन्वय ईकाई अछामले जनाएको छ ।
कतिपय शिक्षकहरु अछामबाट सरुवा भएर अन्य जिल्ला गईसकेका भएपनि उनीहरुको बिवरण पनि ईकाईमा आएको शिक्षा विकास तथा समन्वय ईकाई अछामका निमित्त कार्यालय प्रमुख रावलले जानकारी दिनुभयो । आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाइसक्नुपर्ने प्रावधान रही आएको भए पनि समयमा सम्पत्ति विवरण नबुझाएका शिक्षकहरुलाई जरीवाना भएको जनाईएको छ ।
गत आर्थिक वर्षको सम्पत्ति विवरण आगामि भदौ २६ गतेसम्म बुझाउन इकाइले आग्रह समेत गरेको छ । स्थायी शिक्षकहरुले विद्यालय किताबखानामा र अस्थायी, राहत र नीजिश्रोतका शिक्षक कर्मचारीहरुले सम्बन्धित स्थानीय तहमा सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान रहेको छ ।