लमजुङ १४ साउन
लमजुङमा रही क्रियाशिल रुपमा पत्रकारिता गर्दै आएकी पत्रकार शान्ता कमलीलाई ‘प्रादेशिक शिक्षा पत्रकारिता प्रोत्साहन पुरस्कार–२०७५’ प्रदान गरिएकोे छ । शिक्षा क्षेत्रमा कलम चलाएको भन्दै उनी उक्त पुरस्कारका लागि छनोटमा परेकी हुन् ।

मंगलबार नेपाल पत्रकार महासंघको कार्यालयमा आयोजित कार्यक्रममा शिक्षा तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक बाबुराम पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।
कमलीलाई नगद १५ हजार र सम्मानपत्रले सम्मान गरिएको हो । यो पुरस्कार शिक्षा मन्त्रालय र नेपाल पत्रकार महासंघले प्रदान गरेको हो । कमली पत्रकार महासघ लमजुङ शाखाकी कोषाध्यक्ष, सञ्चारिका समूह लमजुङका अध्यक्ष, नयाँ पत्रिका राष्ट्रिय दैनिकको लमजुङ संवाददाता ,रेडियो लमजुङको समाचार प्रमुख र लमजुङ डेली डटकमकी रिपोर्टर हुन् ।
छोटो समयमै पत्रकारितामा छलाङ मारेकी उनले समुदायमा सकारात्मक प्रभाव पार्ने गरी कलम चलाउँदै आएकी छिन् । यसअघि पनि उनले ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार’ बाट सम्मानित भइकसकेकी छिन् । सार्क राष्ट्रको नमुना पर्यटकीय गाउँ ‘घलेगाउँ’ ले र अलैंची व्यवसायी महासङ्घले समेत उनलाई सम्मानित गरेको थियो ।
कमली विगत ८ बर्ष देखि लमजुङमा रहि पत्रकारिता गर्दै आएकी छिन् । कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले पेशागत दक्षता र राष्ट्रप्रतिको प्रतिवद्धतामा समर्पित भई पत्रकारिता गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले विगतमा आफुले पनि पत्रकारिता गरेको स्मरण गर्दै पुरस्कारले पत्रकारलाई धेरै आड भरोसा दिने बताउनुभयो । ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७५’ नागरिक दैनिक काठमाडौंमा कार्यरत पत्रकार रुबी रौनियारलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्तरुपमा प्रदान गरिने रु. ५१ हजार राशीको पुरस्कार रौनियारलाई प्रदान गरिएको हो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले शिक्षा पत्रकारिता पुरस्कार मार्फत धेरै पत्रकारहरु पुरस्कृत गरिएको भएतापनि मूल्याङ्कनका आधारमा दक्ष पत्रकारहरुलाई पुरस्कृत गरिएको बताउनुभयो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक बाबुराम पौडेलले पुरस्कृत पत्रकारलाई बधाई दिदै आगामि दिनमा पत्रकारका कलमहरु निरन्तर चलुन् भन्दै शुभकामना दिनुभयो ।
मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले अमेरिकामा रहेर पनि नेपालको हितमा केही गरौं भन्ने मनसायले द्वन्द्वकालदेखि नै आफ्नो संस्था देशका लागिपरेको बताउनुभयो । उहाँले आफुपनि विगतमा पत्रकारिता गरेको तथा तथा पत्रकारिताप्रति रुचि रहेका कारण थोरै भएपनि पत्रकारका लागि केही सहयोग पुगोस भनेर पुरस्कारको स्थापना गरिएको बताउनुभयो ।
पुरस्कार छनोट समितिका संयोजक तथा महासंघका महासचिव रमेश विष्टले धेरै निवेदनका बिच उत्कृष्ट आवेदकलाई पुरस्कृत गरिएको बताउनुभयो । उहाँले आगामि दिनमा पुरस्कृत पत्रकारहरुबाट पत्रकारिता क्षेत्रमा थप जिम्मेवार तथा सशक्त हुने आशा राखेको बताउनु भयो ।