होम साउद, अछाम २० साउन
अछामको मङ्गलसेन नगरपालिकाले बजार क्षेत्रमा सौर्य (सोलार) सडकबत्ति जडान गरेको छ । नगरपालिका मार्फत गत आर्थिक वर्ष २०७५÷०७६ मा बिनियोजित १८ लाख ५० हजारको लागतमा बजार क्षेत्रमा सडकबत्ति जडा गरिएको हो ।

मङ्गलसेन बजारको मुख्य बजार क्षेत्र खुल्लामञ्च, बिच बजार, बैरागीधारा लगायत विभिन्न स्थानमा १९ वटा पोल गाडेर सडकबत्ति सुचारु भएको नगरपालिकाले जनाएको छ । टेण्डर मार्फत खेमाज मल्टि बिजनेश कम्पनिले सोलारबत्ति जडान गरेर बत्ती समेत सञ्चालनमा आईसकेको नगरपालिकाका लेखापाल दिपकप्रसाद भण्डारीले जानकारी दिए ।
सडकबत्ति मार्फत बजार क्षेत्रमा रातिको समय उज्यालोका साथै सुरक्षामा समेत टेवा पुग्ने जनाईयको छ । गत आर्थिक वर्षको बजेटबाट सिमित स्थानमा सडकबत्ती जडान गरिएको र चालू आर्थिक वर्षमा पनि सडकबत्ति बिस्तारका लागि बजेट ब्यावस्था गरिने मङ्गलसेन नगरप्रमुख पदमबहादुर बोहराले बताए ।
नगरप्रमुख बोहराले भने “हामीसंग सिमित श्रोत भएकाले धेरै गर्न सकिएन, सडकबत्ति अझैंपनि आवस्यक छ, आगामि दिनमा थप गर्न र विस्तार गर्न पहल गरिने छ ।” सौर्य सडकबत्तिले बजार क्षेत्र रातीको समयमा पनि झिलिमिली भएपछि बजारबासिलाई निकै सहज भएको छ ।