धनगढी, २५ साउन – चिनियाँ कम्पनी थ्री गर्जेजसंग सम्झौता तोडिएको १ वर्ष भईसक्दा समेत ७ सय ५० मेगावट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना निर्माणबारे अन्यौल कायमै छ । सुदुरपश्चिमबासीको आर्थिक भविश्यसंग समेत जोडिएको राष्ट्रिय प्राथमिकता प्राप्त सो आयोजना निर्माणको मोडालिटीबारे अझै टुङगो लाग्न सकेको छैन ।
पश्चिम सेती जलविद्युत आयोजना लगानीका लागि अयोग्य भएको भन्दै थ्री गर्जेज रसरकारसंग सम्झौता भएको ६ वर्षपछि गतवर्षको भदौमा बाहिरिएको थियो । १ खर्व ८१ अर्व रुपैयाँ हाराहारीमा लागत अनुमान गरिएको सो आयोजना स्वदेशी लगानीमै बनाउने वा विदेशी कम्पनीलाई दिने भन्नेमा सरकारी अधिकारीहरुवीच मत मिल्न नसकेपछि आयोजना अन्यौलमा परेको हो ।

लगानीबोर्डले सार्वजनिक नीजि साझेदारीमा आयोजना निर्माणको विकल्प खोज्नुपर्ने बताएको छ । ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेले भने आयोजनाको नयाँ मोडालिटीका सम्वन्धमा कुनै निर्णय भईनसकेको बताए ।
अस्ट्रेलियन कम्पनी स्मेकले १६ वर्षसम्म ओगटेर वसेको पश्चिम सेती जलविद्युत आयोजना पछिल्लो समय चिनियाँ कम्पनी थ्री गर्जेजले पनि ६ वर्षसम्म त्यत्तिकै समय खेर फालेपछि आयोजना अन्योलमा परेको हो । राष्ट्रिय प्राथमिकता प्राप्त ७ सय ५० मेगावट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना २२ वर्षदेखि विभिन्न अल्झनमा फसिरहेको छ ।