टेकराज भण्डारी, साउन २८, अछाम
अछाम सदरमुकाम मंगलसैनबाट ६ किलोमिटर पश्चिम पूर्वतिर पर्ने मंगलसैन नगरपालिका वडा नम्बर ६ मा एउटा फरक साहित्यिक कार्यक्रमको आयोजना गरिएको छ । खीरसंग गजल । साउनको महिना । चाहेजति र विगतका बर्षको तुलनामा कम पानी परेको यहाँ सोमबारको मौसम पनि दिनभर सफा नै रह्यो ।

दिन ढल्दै गर्दा कार्यक्रम स्थलतर्फ गजलकार तथा साहित्यप्रेमीको उपस्थिति बाक्लो हुँदै गयो । सोमबार दिउसो साढे ३ बजे कार्यक्रमको शुभारम्भ हुने भनिएपनि कार्यक्रम करिब ५ बजे शुरु भयो । खीरको स्वादसंगै गजलको रस्वादान गराउन गजलकारको उपस्थिति बढीरहेको थियो । खीर खाँदै गजल सुन्ने र सुनाउने क्रम करिब २ घण्टा चल्यो ।
गजल सुन्ने र सुनाउने मालिका बचत तथा ऋण सहकारी संस्थाको हल खचाखच थिए । मंगलसैन नगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, डिएसपी जनक बहादुर शाही, सहायक प्रमुख जिल्ला अधिकारी शितल बहादुर रावल लगायतका अग्रजको अभिभावकत्व पाउँदा गजलकारहरु प्रफुल्लित देखिन्थे ।
ठुलासैन खीरका लागि समेत परिचित ठाउँ हो । मिठो खीरसंगै गजलकारहरुको गहकिला गजलले वाह वाही पाईरहे । कार्यक्रममा जिल्लाको साँफेबगर देखि तुर्माखाँद सम्मका गजलकारले माहौल तताए ।
अछाम गजल मञ्चका अध्यक्ष तुर्माखाँद रानीवनका जीवन सरोवर
ठीक छानिएको छ थुप्रै बेठीकबाट
म यो नियालीरहेको छु नजिकबाट
अछाम साँफेबगरका भुपेन्द्र भण्डारी
जाउ तिमी जाँदैमा केही बिग्रनेवाला छैन
गजलमा पनि बिना रदिफको काफिया चल्छ
कार्यक्रममा गजलकारहरुले स्थानीय अछाम भाषामा लेखिएका गजल समेत प्रस्तुत गरे । जुन झन् धेरै रुचाईए । गजलकार कमल संघर्ष भन्छन्
बाउँ भनि किनेको बल्ल दाइनु भयो राईक्या
गाई लागिग भैसी पनि राईनु भयो राईक्या
……..
यत्ति त हो मालो मार्या गजल लेखिकन
तुईकी गजलकार्नी भन्न पाईनो भयो राईक्या
कमलले आफ्ना नेपाली भाषाका गजल पनि राख्नुभयो
माटो चोरिँदै गएपछि जराबाट
उजाड भो जिन्दगी हराभराबाट
……
देखिएला तिम्रै काठमाण्डौँ देखिएला
मेरो अछाम देखिदैन धरहाराबाट ।
अछाम रानीवनका दिनेश घोडासैनीले मार्मिक गजल प्रस्तुत गर्नुभयो ।
दरिद्र भावना पो हटि दिएन कहिल्यै
औठी लगाएको सुन कम्तिमा अठन्नी होला
……
लडि रह्यो युद्ध छाती खोलेर लडिरह्यो
प्रियसीको तस्वीर होला जहाँ धमनी होला
कार्यक्रममा गजलकार लक्ष्मण भण्डारी, शुशील भण्डारी, केपी उपाध्याय, दिपा भण्डारी, नारायण जोशी, महेश जैसी, लगायत १५ जना बढीले गजल बाचन गरेका थिए । कार्यक्रममा गजलका बारेमा चर्चा संगै अछाम जिल्लाको साहित्यिक तथा गजलको अवस्थाका बारेमा अछाम साहित्य प्रतिष्ठानका सचिव टेकराज भण्डारीले चर्चा गर्नुभएको थियो ।
अछाममा यसअघि गजल महोत्सव समेत भएको उल्लेख गर्दै उहाँले अछाममा गजल र साहित्यिक माहौल बढ्दै गैरहहेको बताउनु भयो । कार्यक्रम आयोजना गरेको मंगलसैन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले कला, संस्कृति तथा साहित्यको जगेर्नाका लागि आफुहरु लागिरहेको र आगामी दिनमा पनि सहयोग तथा यस्तै कार्यक्रम गरिने बताउनु भयो ।
कार्यक्रममा अभिरुचिका साथ सहभागि अछाम गजल मञ्चका संरक्षक पुष्पराज भट्ट, सहायक प्रमुख जिल्ला अधिकारी शितल रावल तथा प्रहरी नायब उपरिक्षक जनक शाहीले कार्यक्रम फरक शैलीको तथा महत्वपूर्ण रहेको प्रतिक्रिया दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले आफुले साहित्य लेखन नगरेपनि साहित्यप्रति अभिरुचि रहेको भन्दै खीरसंग गजल कार्यक्रमले नयाँ श्रष्ठालाई प्रोत्साहन तथा अग्रजलाई सम्मान प्रदान गरेको भन्दै जिल्लाका अन्य ठाउँमा पनि यस्ता कार्यक्रको निरन्तरताको कामना गर्नुभयो । कार्यक्रमको अध्यक्षता गर्नुभएका मंगलसैन नगरपालिका वडा नम्बर ६ का सदस्य देवेन्द्रप्रसाद भण्डारीले उपस्थित सबैमा आभार प्रकट गर्नुभयो ।