साउन,३१ काठमाडौं
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले विभिन्न ३३ विभागको टुंगो लगाएको छ। सबैभन्दा चर्को विवाद रहेको स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेलले नै पाएका छन् । यसमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको पनि दाबी थियो।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार शुक्रबार मध्यान्ह बसेको सचिवालय बैठकले विदेश विभागको इन्जार्चमा माधव नेपाललाई चयन गरेको छ । त्यस्तै यो विभागको सहइन्चार्जमा राम कार्की चयन भएका छन्।
त्यसैगरी नीति अनुसन्धान विभागको नेतृत्व झलनाथ खनालले गर्ने भएका छन्। त्यसैगरी संगठन विभागको जिम्मेवारी वामादेव गौतमलाई दिइएको छ। अर्थ तथा योजना विभागको जिम्मेवारी सरेन्द्र पाण्डेले पाएका छन्। प्रवक्ता श्रेष्ठका अनुसार ३३ मध्ये १९ विभागमा पूर्वएमालेका नेताहरू चयन भएका छन्। १४ वटामा पूर्वमाओवादी केन्द्रका नेताहरूले जिम्मा पाएका छन्।
करिब दुई महिनासम्म चलेको विवादकाबीच पनि पोखरेलले स्कुल विभाग लिन सफल भएका छन्। पूर्वमाओवादीका नेताहरुले कुनै हालतमा पोखरेललाई स्कुल विभाग दिन नहुने अडान राखेका थिए। अन्ततः उनैलाई नेकपाले सर्वसम्मत स्कुल विभागको जिम्मा दिएको हो।
त्यसैगरी नेकपाले सातै प्रदेशमा थप २ जना सह सहइन्चार्ज तोक्ने पनि निर्णय गरेको छ । नेकपाले अब जनवर्गीय संगठनको ईन्चार्ज सहईन्चार्ज तोक्न बाँकी छ।