शुक्रबार, भदौ ६, गोरखा
मनकामना बहिरा माविका आया श्यामहरि घिमिरेको हत्या आफूले गरेको गोरखा नगरपालिका ९ का याकुब परियारले स्वीकार गरेका छन्। आफ्नै श्रीमती पूजा परियारको हत्या अभियोगमा प्रहरी हिरासतमा रहेका परियारले घिमिरेको पनि हत्या आफैले गरेको स्वीकार गरेको मृतकका आफन्त सुवास घिमिरेले जानकारी दिए।

साउन २७ गते राति झाँक्रीको घरबाट झारफुक गरेर फर्किरहेका बेला सडकमा एक्लै देखेपछि आक्रमण गरी घाँटी थिचेर हत्या गरेको र घिसार्दै जंगलमा फालेको परियारले स्वीकार गरेको मनकामना बहिरा माविका व्यवस्थापन समितिका अध्यक्ष खडानन्द रेग्मीले जानकारी दिए।
प्रहरी कार्यालयमा बिहीबार साँझ विद्यालय प्रशासन, व्यवस्थापन समिति र मृतकका आफन्तसामु परियारले हत्या गरेको स्वीकारेको रेग्मीले बताए। ‘राति झाँक्रीको घरबाट फुकफाक गरेर फर्कदै गर्दा बत्ती बालेर रोडरोडै आइरहेको मान्छे देखेपछि आक्रमण गरेर मुण्टो बटारेर घिसार्दै जंगलमा फालेको भनेर याकुबले हामी सबैको सामु स्वीकार गर्यो, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेग्मीले भने।
प्रहरीले भने सम्भावित हत्यारा पहिचान भएको भन्दै पत्रकार सम्मेलन गरेर आरोपीलाई सार्वजनिक गर्ने जनाएको छ। ‘आरोपीको प्रारम्भिक बयान भएको छ, हामी औपचारिकरुपमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछौं’, जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारीले भने।
आफ्नै श्रीमती १९ वर्षीय पूजा परियारको हत्या आरोपमा २१ वर्षीय याकुव परियार भदौ १ गते पक्राउ परेका थिए। मानसिक अवस्था ठीक नभएका उनी विगत ६ दिनदेखि प्रहरी नियन्त्रणमै छन्। मृतक घिमिरेका आफन्त तथा स्थानीले हत्यारा पत्ता लगाउन दवाव दिँदै ११ दिनदेखि विद्यालयमा ताला लगाएर आन्दोलन गरिरहेका छन् ।