चालू आर्थिक वर्षका लागि २५ अर्ब बराबरको बजेट ल्याएको सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्षका लागि २९ अर्बको बजेट ल्याउने अन्तिम तयारीमा छ । यस अघि ३ अर्ब भन्दा बढी बजेट ल्याउने प्रदेश सरकारले जनाएको थियो । तर सङ्घीय सरकारबाट २ अर्ब बढी सशर्त अनुदान कम आएकाले २९ अर्ब बराबरको बजेट प्रस्तुतको अन्तिम तयारी भइरहेको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बताउनु भयो ।
प्रदेश सरकारले कृषिलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याउने वोहराको भनाइ छ । साथै वैदेशिक निर्यातलाई प्रतिस्थापन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट आउने उहाँको भनाइ छ । विपन्न वर्ग, भौतिक पूर्वाधार, सामाजिक विकासका क्षेत्रलाई पनि सरकारले प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।
सरकारले चालू आर्थिक वर्षका लागि ल्याएको बजेट ६० प्रतिशतको हाराहारीमा मात्रै खर्च गर्न सक्ने जनाएको छ । विगतमा संयन्त्र अभावमा बजेट खर्च गर्न नसकिएपनि अब कर्मचारी समायोजन लगायतका कुराहरू साम्य भइसकेकाले पूर्ण कार्यान्वयन हुने बजेट ल्याउन मन्त्री वोहराको दाबी छ । टुक्रे नभएर विशेष कार्यक्रम र योजना मार्फत मात्रै बजेट ल्याइने समेत उहाँको भनाइ छ ।
सरकारले मिडियालाई समेत प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिरहेको उहाँको दाबी छ ।
प्रदेशको गरिबी, बेरोजगारी र बाजुरा जस्ता विकट जिल्लाहरूलाई प्राथमिकतामा राखेर बजेट ल्याउने सरकारले ल्याएको नीति तथा कार्यक्रममा पनि उल्लेख छ । सरकारले विभिन्न क्षेत्रसँग बजेट वारे थलफल र परामर्श गरे पनि कति कुराहरू बजेटमा समेटिन्छन् त ? त्यो भने असार १ गते मात्रै थाहा हुन्छ ।
