कल्पनाका पति रोजगारीका लागि भारत गएका छन्। हुरी आउनुभन्दा दुई दिनअघि पति भारत गएका थिए। हुरी आउँदा कल्पना नाबालक छोराछोरीसहित घरमा थिइन्। हुरीले घर भत्काउन थालेपछि ज्यान जोगाउन उनी छोराछोरीसहित छिमेकीको घर पुगिन्। ‘वर्षासहितको हावाहुरीले सबै उडायो,’ उनले भनिन्, ‘भएको अन्नपात पनि भिज्यो।’
हुरीले वितण्डा मच्याएको दिनदेखि उनको परिवारले राम्ररी खान पाएको छैन। ‘त्यो दिनदेखि आँखामा न निद्रा छ न त पेट भरिएको छ,’ उनले भनिन्, ‘छिमेकीको आँगनमा नाबालक छोराछोरीसहित सुत्छु।’ हुरीले भत्काएको घरअघि बुधबार काखे शिशुसहित बसेकी उनले भनिन्, ‘भोक मेटाउन दुई नाबालक छोराछोरी खानाको खोजीमा गाउँतिर गएका छन्।’

स्थानीय धनादेवी ढोलीको पीडा पनि कल्पनाको जस्तै छ। हुरीले उनको पनि घर भत्काइदिएको छ। मजदुरी गर्न भारत गएका उनका पति उतै छन्। घर हुरीले उडाइदिएपछि उनी दुई छोराछोरी र आठ महिने शिशुसहित खुला आकाशमुनि रात काट्न बाध्य छिन्। हुरीले घर भत्काएको सात दिन हुँदा पनि कसैले त्रिपालसम्म नदिएको उनको गुनासो छ। ‘हावाहुरी आएको एक साता बितिसक्यो, अहिलेसम्म कसैले केही दिएको छैन,’ उनले भनिन्, ‘बच्चाको पेट भर्नसमेत मुस्किल परिरहेको छ।’ आजको नागरिक दैनिकमा खबर छ ।