टेकराज भण्डारी, जेठ ३२, अछाम
नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य भीम रावलले सुदूरपश्चिमका सबै जिल्लामा जिल्ला कमिटि सदस्यलाई शपथको काम सम्पन्न भएको बताउनु भएको छ ।

जेठ २५ गते कैलाली र कञ्चनपुरका जिल्ला कमिटिलाई सपथ गराईएको सुदूरपश्चिममा आज अछाम जिल्ला कमिटिका सदस्यलाई सपथ गराएसंगै ९ वटै जिल्लाका सदस्यलाई सपथ ग्रहण कार्य सकिएको बताउनु भयो । प्रेस संगठन अछामले सदरमुकाम मंगलसैनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा सुदूरपश्चिम ईन्चार्ज समेत रहनुभएको नेता रावलले सपथ ग्रहण संगै अब पार्टीले नयाँ गतिलिने बताउनु भयो ।
प्रेस संगठन अछामका टेकराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहनु नेता रावलले सुदूरपश्चिमका विभिन्न योजना तथा कार्यक्रममा आवश्यक बजेट विनियोजनका लागि आफुहरुले निरन्तर आवाज उठाईरहेको बताउनु भयो ।
प्रदेश सरकारले पनि बजेट बिनियोजन गर्दा सबै जिल्लामा आवश्यक्ता तथा समानताका आधारमा बजेट बिनियोजन गरिनुपर्नेमा जोड दिनुभयो । “विगतका प्रतिबद्धता र घोषणापत्रलाई आफ्नो मूल मर्म बनाउनुपर्छ” रावलले भन्नुभयो ।
नेपाल कांग्रेसले हिँजो दुई तिहाई देखि बहुमत प्राप्त गरेको तर कुनै काम गर्न नसकेको दाबी गर्नुभयो । अहिले कांग्रेसले सरकार तथा नेकपाको बिरोध गरिरहेको भन्दै विकृति र बेथिति भित्र्याउने, उद्योग कलकारखाना कौडीमा बेच्ने तथा देशलाई पछाडी धकेल्ने काम कांग्रेसले गरेको आरोप लगाउनु भयो ।
“कांग्रेसले जे भन्यो त्यसको उल्टो ग¥यो, जसले देश पछाडी गयो, हामीले त्यसो गर्नु हुँदैन । ” रावलले भन्नुभयो । नेपालको संविधान, नेकपाको घोषणापत्र आदीले प्रेस स्वतन्त्रताको हनन गर्ने कुरा कल्पना समेत नगरेको भन्दै नेता रावलले हाल संसदमा प्रस्तुत मिडिया काउन्सिल विधेयकले पनि त्यसो नगर्ने दाबी गर्नुभयो । कहीँ कतै प्रेस स्वतन्त्रतामा खलले पुग्ने देखिए त्यो सुधार हुने उहाँको भनाई छ ।
पत्रकार सम्मेलनमा नेकपाका स्थायी कमिटि सदस्य तथा पूर्व मन्त्री लेखराज भट्ट, सुदुरपश्चिम प्रदेश सहईन्चार्ज लक्ष्मणदत्त जोशी, प्रदेश कमिटि अध्यक्ष कर्ण बहादुर थापा, सहअध्यक्ष नेप बहादुर चौधरी, राष्ट्रिय सभा सदस्य तथा नेकपा जिल्ला अध्यक्ष शेरबहादुर कुँवर, सचिव झपट साउँद, संचारकर्मी लगायतको सहभागिता रहेका थियो । पत्रकार सम्मेलनको संचालन प्रेस संगठनका होम साउँदले गर्नुभएको थियो ।