प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत यस आर्थिक बर्षमा पञ्चदेवल विनायक नगरपालिकामा २१२ जनालाई रोजगारी दिइने भएको छ ।
नगरपालिकाका प्रत्येक वडाहरुमा सूचिकृत बेरोजगार व्यक्तिहरुका लागि ३० दिनको रोजगारी दिन लागिएको रोजगार सेवा केन्द्रले जनाएको छ ।

नगरपालिकाका रोजगार संयोजक भरतराज अधिकारीका अनुसार वडा कार्यालयले ५ लाखसम्मको आयोजना छनोट गरी एक वडाबाट न्यूनतम २३ जनालाई काम दिन लागेको हो । असार मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने योजनामा दैनिक ५ सय १७ रुपैया पारिश्रमिक रहने जनाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट यस नगरपालिकाका लागि ४७ लाख सशर्त अनुदान पठाइसकिएको छ ।
‘प्रत्येक आयोजनाको न्यूनतम ७० प्रतिशत रकम कामदारको पारिश्रमिकमा खर्च हुनेछ भने २५ प्रतिशत रकम सामग्री खरिदमा र बाँकी ५ प्रतिशत रकम व्यवस्थापनमा खर्च हुनेछ’, संयोजक अधिकारीले बताउनुभयो । उहाँका अनुसार पारिश्रमिक रकम कामदारको बैंक खातामा काम सकिएलगत्तै जम्मा हुने व्यवस्था मिलाइनेछ ।
सरकारले यो आर्थिक वर्ष सकिनै लाग्दा छोटो समयमा भए पनि न्यूनतम ३० दिनको रोजगारी व्यवस्था गरेको र आउँदो वर्ष न्यूनतम सय दिन रोजगारी दिलाउने बताउँदै आएको छ ।
पन्चदेवलन्युज बाट साभार गरिएको