जेठ २१, २०७६ मंगलबार
रोल्पा – १४ जना विद्यार्थीलाई कुटपिट गरी घाइते गराएको आरोपमा रोल्पाको रुन्टीगढी गाउँपालिका–८ मगरगोरीस्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले पक्राउ गरेको छ ।
जेठ १२ गते ढिलोगरी विद्यालय आएको भन्दै कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने १४ जना विद्यार्थीलाई कुटपिट गरी घाइते गराएको भन्दै पीडित पक्षले जेठ १९ गते इलाका प्रहरी कार्यालय होलेरीमा उजुरी दिएपछि इप्रका होलेरीका प्रहरी निरीक्षक मेघनाथ चापागाईको नेतृत्वमा गएको प्रहरी टोलीले उनलाई घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक दिपक खड्काले जानकारी दिनुभयो ।

आरोपितलाई अभद्र व्यवहारअन्तर्गतको कानुनी कारबाहीका लागि जिल्ला अदालत रोल्पाबाट म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको पनि डीएसपी खड्काले बताउनुभयो ।
प्रधानाध्यापक झगबहादुर भण्डारी गाउँपालिकाको एसआईटी तालिममा होलेरी गएका बेला निमित्त प्रधानाध्यापकको जिम्मेवारी पाएकी शिक्षिका लक्ष्मीले विद्यार्थीमाथि भाँचिएको कुर्सीको खुट्टाले कुटपिट गरेको विद्यार्थीहरुको भनाइ छ । शिक्षिकाको कुटपिटबाट भीमकुमारी बाँठा, गौरी घर्ती, निर्मला पुन, शान्ता नेपाल र विमला रोकाको हातमा गम्भीर चोट लागेको छ । उनीहरुको दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा हातको प्लाष्टर गरिएको छ ।
घटनापछि जेठ १४ गते अभिभावकहरुले विद्यालयमा ताला लगाइ आफूहरुले पैसा उठाएर निजी स्रोतबाट राखेको शिक्षिकाले आफ्नै छोराछोरीहरुलाई भन्दै शिक्षिकालाई बर्खास्त गर्न माग गरेका थिए, त्यसपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष भीमबहादुर पुनको पहलमा घाइते विद्यार्थीहरुको उपचार शिक्षिकाले नै गरिदिने र शिक्षिकालाई बर्खास्त गर्ने गरी मिलापत्र भएको थियो ।
तर, भोलिपल्ट शिक्षिका पुनले उपचार खर्च पनि दिनुपर्ने, कारबाही पनि भोग्नु पर्ने भन्दै विरोध गरेपछि यो विषय इलाका प्रहरी कार्यालय होलेरीमा पुग्यो ।
प्रहरीले १६ जेठमा गाउँपालिका अध्यक्ष बालाराम बुढा, गाउँपालिकाका शिक्षा हेर्ने अधिकारी, अभिभावक र कुटाइ खाने विद्यार्थी लगायतलाई बोलाएर छलफल गरायो । त्यही छलफलका आधारमा विद्यार्थीहरुको चेकजाँचका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी लगियो । स्वास्थ्यकर्मीले एक्सरे गर्नुपर्ने बताएपछि उनीहरुलाई दाङ पुर्याइएको हो । एक्सरेपश्चात ५ जनाको हातमा पलास्टर गरिएको छ । शिक्षिका पुनले भने उनीहरुकै राम्रोका लागि कुटपिट गरेको बताएकी छन् ।
कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा तीनजना शिक्षकको मात्रै दरबन्दी छ । बाँकी निजी स्रोतबाट राखिएका छन् । लक्ष्मी पुन पनि निजी स्रोतकी शिक्षिका हुन् ।स्थानीयका अनुसार एक वर्षअघि पनि पुनको कुटाइबाट एक विद्यार्थीको कानमा समस्या भएको थियो ।