जिल्ला कमिटीका इञ्चार्ज र सह इञ्चार्ज चयनमा नेताहरुबीचमा नै सहमति हुन नसक्दा बैठक स्थगित हुन पुगेको हो ।
इञ्चार्ज र सह–इञ्चार्ज तोक्नेबारे मापदण्डमा नेताहरुबीच सहमति हुन सकेको छैन । प्रदेश इञ्चार्ज र सहइञ्चार्ज तोकेजसरी नै जिल्लामा पनि तोक्ने विषयमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली, महासचिव विष्णु पौडेल र इश्वर पोखरेलले दवाव दिइरहनुभएको छ । तर वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरु पनि जिल्ला इञ्चार्ज र सहइञ्चार्ज लाई दोहोरो जिम्मेवारी दिन नहुनेमा अडिग भएपछि पटक पटक बसेको बैठक निर्णय विहीन बन्दै आएको छ ।

जिल्ला इञ्चार्ज र सहइञ्चार्ज टुंगो लाग्न नसक्दा केन्द्रीय सदस्यहरुको कार्यविभाजन पनि पछि धकेलिएको छ । बैठकमा इञ्चार्ज र सहइञ्चार्जको बारेमा छलफल भए पनि अन्य विषय छलफलमा प्रवेश गर्न नसकेको नेताहरु बताउँछन् ।
थप गृहकार्य आवश्यक भएको भन्दै बैठक स्थगित भएको र अर्को बैठक कहिले बस्ने भन्ने टुंगो लागिनसकेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बताउनुभयो ।
सहमति जुटाउन नेताहरुबीच छुट्टा छुट्टै छलफल हुँदै आएको भए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन । शुक्रबारसम्ममा पनि सहमति नजुटे जिल्ला इञ्चार्ज र सहइञ्चार्जको टुंगो दुई साता पछि सर्ने छ ।
शनिबार पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली ९ दिन लामो युरोप भ्रमणमा निस्कँदै हुनुहुन्छ । पटक पटकको बैठक स्थगित हुनुले प्रधानमन्त्री ओली आफ्नो युरोप भ्रमणपछि मात्रै जिल्लाको इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाउने सोचमा पुग्नुभएको नेकपाका एक नेताले बताए ।