ध्रुव बीसी/ अछाम, ३१ जेठ
अछाम जिल्लामा एचआइभी संक्रमितको संख्या १४ सय ११ छ । जसमा महिलाको संख्या ७०९ र पुरुषको संख्या ६३४ रहेको छ । उनीहरु मध्य नियमित उपचार गराउनेहरु जम्मा ६१६ जना मात्र छन् । अन्य ७ सय ९५ जना उपचार गर्दागर्दै बिचमै हराएका छन् ।
जिल्लाका ७२ स्वास्थ्य चौकि, दुई प्राथमिक स्वास्थ्य केन्द्र तथा जिल्ला अस्पताल मंगलसेन र वयलपाटा अस्पतालको रेकर्ड अनुसार २०६३ साल यता अहिलेसम्म एचआइभीकै कारण १ सय ८१ जनाको मृत्यु भइसकेको छ । उपचारका लागि अस्पतालको सम्पर्कमा आएका अन्य १४ सय ११ मध्य ६१६ जनाले मात्र नियमित रुपमा एआरटी सेवा लिइरहेका छन् ।
त्यो वाहेकका अन्य संक्रमितको तथ्यांक मात्र छ तर उनीहरु कहाँ छन् भन्ने वारे कुनै रेकर्ड नरहेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक झपटराज ढुंगानाले बताए । ‘बिचमै हराउनेको संख्या धेरै छ,’उनले भने,‘उनीहरु बारे सरकारी निकायसँग कुनै रेकर्ड छैन । कहाँ गए भन्ने पनि जानकारी छैन ।
’ तर विचमै हराएकाहरु मध्य अधिकांस रोजगारीको सिलसिलामा भारत गएर उतै औषधी सेवन गरिरहेको हुनसक्ने अनुमान गरिएको जिल्ला जनस्वास्थ्य अधिकृत आशुतोष श्रेष्ठले बताए । ‘यहाँका धेरै मानिस मजदुरी गर्न भारत जान्छन्,’ उनले भने,‘त्यसमा केही संक्रमितहरु पनि रहेको सुनेका छौ । उनीहरुले त्यहाँ पनि औषधी सेवन गरिरहेको हुनुपर्छ ।’
संक्रमितका आफ्न्त र अन्य उपचारमा रहेकाहरुका अनुसार केही एचआइभी संक्रमितहरुले भारतमा मजदुरी गर्ने गरेको उनले बताए । गाउँमा बस्दा टोलछिमेककाले लान्छना तथा भेदभाव गर्ने गरेका कारण प्राय संक्रमित पुरुषहरु भारत जाने गरेको जिल्ला अस्पताल अछामका परिवार नियोजन सुपरभाइजर भवानसिंह कुँवरले बताए ।
‘संक्रमितलाई अहिलेपनि हेयको दृष्टिकोणले हेर्ने गरिन्छ,’ उनले भने,‘घर, समाजदेखि अस्पतालसम्म उनीहरु माथि विभेद हुन्छ । जसले गर्दा उनीहरु गाउँसमाज भन्दा टाढै रहन मन पराउछन ।’ समाजले हेर्ने गलत दृष्टिकोणकै कारण रोगलेभन्दा लान्छनापछि उत्पन्न हुने कारणले धेरै संक्रमितको ज्यान गएको उनले बताए ।
लान्छना र भेदभाव अन्त्यका लागि जनचेतना जगाउनुपर्ने भन्दै डाक्टर अतुल भारद्धाजले संक्रमितलाई अन्य व्यक्ति सरह जिउने वातावरण तयार गर्नुपर्ने बताए । त्यसका लागि समाजमा रहेका गलत धारणा अन्त्य गर्न स्थानीय तह अग्रसर हुनेपर्नेमा उनले जोड दिए ।
मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले नीति तथा कार्यक्रममै यसबारे विशेष योजना समावेस गरिने बताए । त्यसका लागि जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरिने भन्दै जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुँवरले त्यसका लागि आवश्यक खाका तयार पार्न स्वास्थ्य कार्यालयले योजनावद्ध रुपमा लाग्नुपर्ने बताए ।