टेकराज भण्डारी, असार , अछाम
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य भीम रावलले अहिले अधिनायकबादको गीत गाउँने नेपाली कांग्रेसले एक पटक आफ्नो अनुहार ऐनामा हेर्न सुझाव दिनुभएको छ । आईतबार अछामको तुर्माखाँद गाउँपालिकामा आयोजित पार्टीको बृहत आमसभामा प्रमुख अतिथिको आशनबाट बोल्दै स्थायी कमिटि सदस्य तथा सुदरुपश्चिम ईन्चार्ज रावलले नेपाली कांग्रेसले बिगतमा जे गर्छु भनेको थियो त्यसको विपरित गरेकोले देश विकास हुन नसकेको आरोप लगाउनु भयो ।

“नेपाली कांग्रेस भ्रमको खेती गरीरहेको छ, विगतमा दशौँ बर्ष सरकारका रहँदा कांग्रेसले केही गरेन” नेता रावलले भन्नुभयो – “अहिले अधिनायकबाद भन्दै अरुले गरेको राम्रा कामलाई समेत कुप्रचार गरीरहेको छ ।” नेता रावलले कसैलाई पनि नेपाली कांग्रेसको भ्रममा नपर्न आग्रह गर्दै नेपाली कांग्रेसले नेतृत्व गरेका स्थानीय तहमा के कस्तो विधिको शाशन र सुशाशन कायम भैरहेको छ, भन्ने बारेमा आफुहरुले गहिरो अध्ययन र नजिकबाट नियाली रहेको बताउनु भयो ।
सामाजिक सुरक्षा भत्ता नबढाएको भन्दै गत बर्षभरी गीत गाउने कांग्रेसको अब मुख बन्द भएको र सामाजिक सुरक्षा भत्ता सरकारले बढाएको बताउनु भयो । नेकपाका जिल्ला कमिटि सदस्य पदम बुढाको अध्यक्षतामा भएको आमसभामा पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका नेता रावलले पार्टीको नीति, पद्धति तथा राष्ट्रिय स्वाभिमान उचो रहने गरी काम गर्न सबै कार्यकर्तालाई निर्देशन दिनुभयो । पार्टीलाई आँच आउने तथा क्षणिक स्वार्थका कुनै पनि कार्यमा नेकपाका कार्यकर्ता संलग्न भएमा त्यो सह्य नहुने भन्दै नेता रावलले अरुले गरेका गलत काम तथा अनियमितताको भण्डाफोर गर्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य शरदसिंह भण्डारीले कम्युनिष्ट सरकारले देश बनाईछाड्ने दाबी गर्नुभयो । अहिले सरकारले देशलाई आवश्यक पर्ने दीर्घकालिन महत्वका काम गरीरहेको भन्दै नेपाली कांग्रेसले भने जस्तो अधिनायकवाद नेपाली कांग्रेसकै शाशनकालमा रहेको टिप्पणी गर्नुभयो ।
नेकपा जिल्ला कमिटि अध्यक्ष शेर बहादुर कुँवरले अब नेकपा गाउँ गाउँ गएर जनता जगाउने र कार्यकर्ता क्रियाशील गर्ने अभियानमा जुटेको बताउनु भयो । आमसभामा नेकपा जिल्ला कमिटि सदस्य तथा प्रतिनिधि सभा सदस्य यज्ञ बोगटीले अब नेकपाका बाँकी रहेका सबै एकता प्रक्रियाका काम सकेर मजबुद संगठनका रुपमा क्रियाशिल हुने बताउनु भयो । जिल्लाका विभिन्न विकास योजनाका लागि आफुले केन्द्रमा पहल गरिरहेको उहाँको भनाई छ ।
आमसभामा नेकपाका जिल्ला सदस्य तथा प्रदेश सभा सदस्य बल बहादुर सोडारी, दुर्गा विक, प्रदेश कमिटि सदस्य तथा जिल्ला सचिव झपट साउँद, भरत साउँद, कृष्ण प्रसाद जैसी, बम बहादुर विसी, शिव प्रसाद उपाध्याय, गौमति शाही लगायतले मन्तव्य राख्दै अब पार्टीले शशक्त रुपमा काम गर्ने बताउनु भयो ।
हजारौँ कार्यकर्ताको सहभागिता रहेको कार्यक्रममा जित बहादुर शाहीले स्वागत गर्नुभएको थियो भने संचालन जिल्ला कमिटि सदस्य प्रेम बुढा र धरणीधर जैसीले गर्नुभएको पत्रकार टेकराज भण्डारीले जानकारी दिनुभयो । पालिका स्तरीय विशाल आमसभा आज जिल्लाको ढकारी गाउँपालिकामा हुने भएको छ ।
यसैवीच सोही विशाल आमसभामा विभिन्न पार्टी परित्याग गरी १ सय ५७ जना नेकपामा प्रवेश गरेका छन् । नेपाली कांग्रेस, विप्लब माओवादी, राप्रपा लगायतका पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका नेकपा अछामका जिल्ला कमिटि सदस्य नमराज न्यौपानेले जानकारी दिनुभयो ।
विप्लब माओवादीका शिक्षक संगठनका जिल्ला अध्यक्ष मान बहादुर व्ययक विप्लब माओवादी परित्याग गरी नेकपामा प्रवेश गर्नुभएको छ । नव प्रवेशीलाई एमाले स्थायी कमिटि सदस्य तथा सुदूरपश्चिम ईन्चार्ज भीम रावलले भित्र्याउँदै प्रतिबद्धताका साथ पार्टीमा लाग्न आग्रह गर्नुभयो ।