काठमाडौं, ५ असोज : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल)को १३ औँ सिजनमा दिल्ली क्यापिटल्सलाई एकैदिन २ झड्का लागेको छ ।
टिमका महत्वपूर्ण सदस्य रविचन्द्रन आश्विन र ईशान्त शर्मा घाइते भएपछि दिल्लीलाई झड्का लागेको हो ।
ईशान्त नेट प्राक्टिस र आश्विन खेलका क्रममा घाइते भएका हुन् । ईशान्तले चोटकै कारण गएराति सम्पन्न किंग्स इलावेन पञ्जाब विरुद्धको खेल गुमाएका छन् ।
पञ्जाबविरुद्ध आश्विनले एक ओभर मात्र बलिङ गरे । उनले आफ्नो पहिलो ओभरमै महत्वपूर्ण २ विकेट लिए । तर, आश्विन यही ओभरमा घाइते हुन पुगे । उनी रन बचाउने कोशिसमा लाग्दा घाइते भएका हुन् ।
आश्विन एक ओभर बलिङ गर्दै मैदान बाहिरिएका थिए । त्यसपछि उनी मैदान प्रवेश गरेका थिएनन् । आश्विनको हातमा चोट लागेको छ । उनको चोट गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आश्विनले आइपीएलका केही म्याच गुमाउन सक्ने बताइएको छ । उनी दिल्ली टिमका अनुभवी स्पिनर हुन् । एकै दिन महत्वपूर्ण २ बलर घाइते हुँदा दिल्ली केही तनावमा देखिएको छ ।