तपेन्द्र कुवँर असार १४,अछाम
जलवायु परिवर्तन, अनावश्यक रुपमा वनजङ्गलको दोहन, जथाभावी डोजरको प्रयोग लगायतका कारणले पानीका मुहान सुक्दै गएपछि साँफेबगर नगरपालिकाका पानीको मुहान संरक्षण अभियानमा जुटेको छ । सुख्खायामको समयमा पानीको मुहान सुक्ने भएकाले मुहानको माथिपट्टि नगरपालिकाले रिचार्ज पोखरी निर्माण गरेको हो ।

चालु आर्थिक वर्षमा ५ लाखको लागतमा वडा नं.१३ बाब्लाको जिर्ण अवस्थामा रहेको पोखरीको पूर्ननिर्माण गरिएको छ । चालु आर्थिक वर्षमा वडाको उच्च भागमा रहेको जिर्ण तथा पुरिदै गएको शुभदहको पूर्ननिर्माण गरिएको साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले जानकारी दिनुभयो ।
आजभन्दा २० वर्ष अघि शुभदहमा भरिभराउ पानी हुँदा त्यस क्षेत्र वरिपरि पानीको मुहान रहेका थिए । तर शुभदह तालमा पानी नहुँदा त्यहा वरिवपरिका मुहान पनि सक्दै गएको बाब्ला पर्यटन तथा धार्मीक पूर्वाधार समितिका अध्यक्ष रुपबहादुर कुँवरले जानकारी दिनुभयो । पहिले उक्त तालमा भैसी आहलको लागि ल्याउने गरेका थियौ । ‘तालको संरक्षणको लागि नगरपालिकाले सहयोग गरेपछि शुभदहको तालको पुरै माँटो निकालिएको छ ।’ अध्यक्ष कुँवरले भन्नुभयो–‘अव वर्षायाको पानी जम्मा गरेर पुरानै अवस्थामा तालमा पानीको व्यवस्था गरिनेछ ।’
भिरालो जग्गामा भलका रुपमा बग्ने र माटो कटान गर्ने पानीलाई पोखरीमा जमाएर हरियाली बढाउन र पानी सुसाउनका लागि रिचार्ज पोखरी निर्माण गरिएको साँफेबगर नगरपालिका वडा नं.१३ बाब्लाका अध्यक्ष सागरसिंह बाब्लीको भनाई रहेको छ ।
यस्तै चालु आर्थिक वर्षमा नै साँफेबगर नगरपालिका वडा नं.८ चण्डिकास्थित वगलपाटा परिएको दयाखालको पनि संरक्षण गरिने साँफेबगर नगर प्रमुख कुँवरले जानकारी दिनुभयो ।
यस्तै केन्द्र सरकारबाट पनि साँफेबगर नगरपालिकाका वडा नं.१३ बाब्लामा रिचार्ज पोखरी निर्माणदेखि जलवायु परिवर्तन न्यूनिकरण कार्यक्रमको लागि ७२ लाख रुपैया केन्द्र सरकारबाट आएको नगर प्रमुख कुँवरको भनाई रहेको छ । ‘आगामि आर्थिक वर्ष ०७६/०७७ को लागि रिचार्ज पोखरी निर्माणदेखि पुराका परिएका पोखरीको निर्माणको लागि २० लाख रुपैया वजेट विनियोजित गरिएको छ ।’
नगर प्रमुख कुँवरले भन्नुभयो– ‘नगर पालिकाको अन्य स्रोतबाट र प्रदेश सरकारबाट आउने थप करिब ३० लाख रिचार्ज पोखरी निर्माणको लागि खर्च गरिने छ ।’ १४ वटै वडाका पुराना पुराका पोखरीहरुको निर्माणसँगै आवश्यकताका आधारमा रिचार्ज पोखरी निर्माण गरिदै जाने नगर प्रमुख कुँवरको भनाई रहेको छ ।
पानीको मुहानमाथि जम्मा भएको पानीले मुहान संरक्षणमा सहयोग विश्वास रहेको नगर प्रमुख कुँवरको भनाई रहेको छ । पानीका मुहान संरक्षण, जंगल संरक्षण र जमिनको आद्रता बढाउनका लागि नगरपालिकाले यस्तो नीति अवलम्बन गरेको नगर प्रमुख कुँवरको भनाई रहेको छ ।
सुख्खायामको समयमा खोला र नदिको दूषित पानी पिउने बाध्यताबाट मुक्ति खोज्न रिचार्ज पोखरी निर्माण गर्न सुरु गरिएको साँफेबगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मिप्रसाद शर्माको भनाई रहेको छ ।Radio janaprya online bata