धुर्मुस सुन्तली फाउण्डेशनले चितवनमा बनाउँदै गरेको रंगशाला छेउवा रहेको नमूना मैदानमा भएको गौतमबुद्ध टी २० क्रिकेटको उपाधि राप्तीले जितेको छ ।
१४४ रनको लक्ष्य पछ्याएको नारायणी निर्धारित ओभरमा ९ विकेट गुमाएर १३४ रन मात्रै बनाउन सकेपछि अपराजित रहँदै राप्तीले उपाधि जित्न सफल भयो । राप्ती ९ रनले विजयी हुँदै उपाधि जितेको हो ।
नरायणीका आरिफ शेखले सर्वाधिक ४८ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यसैगरी इशान पाण्डे र रित गौतमले समान २७–२७ रन बनाए । नारायणीलाई रोक्ने क्रममा राप्तीका लागि अविननाश बोहोराले सर्वाधिक तीन विकेट लिँदा भुवन कार्कीले २ तथा जितेन्द्र मुखिया र कमल सिंहले एक एक विकेट लिए ।
टस हारेर पहिला ब्याटिङ गरेको राप्तीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाएको थियो । राप्तीको शुरुवात भने राम्रो रहेको थियो । पहिलो विकेटका लागि अमित श्रेष्ठ र कुशल भुर्तेलले ५१ रनको साझेदारी गरेका थिए ।
१७ बलमा १८ रन बनाएर अमित श्रेष्ठ पहिलो विकेटको रुपमा आउट भए । अमितले चार चौका प्रहार गरे । त्यसपछि क्रिजमा आएका शरद भेषवाकर धेरैबेर टिक्न सकेनन् । टिमको स्कोर ६३ रन हुँदा उनी व्यक्तिगत १० रन बनाएर पभेलियन फर्किए ।
सात बल फेस गरेका शरदले एक छक्का र एक चौका प्रहार गरे । टिमको स्कोर ७४ रन हुँदा राप्तीका कुशल भुर्तेल आउट भए । ओपनिङ आएका कुशलले ३१ बल फेस गर्दा चार चौका र दुई छक्का प्रहार गरे ।
त्यसपछि क्रिजमा आएका भुवन कार्की व्यक्तिगत चार रन जोडेर आउट भए । १७ औं ओभरमा सुमित महर्जन पनि पभेलियन फर्केपछि राप्तीले ५–१०९ रन बनाएको थियो । छैटौं विकेटको रुपमा लोकेश बम आउट हुन पुगे ।
लोकेसले सात रन मात्रै बनाउन सके । सातौ विकेटको रुपमा कप्तान विनोद भण्डारी रन आउट हुन पुगे । उनी एक बल बाँकी छदा आउट भएका थिए । विनोदले २१ बलमा चार चौका र एक छक्काको मद्दतले ३३ रन बनाए ।
आठौं विकेटका रुपमा जितेन्द्र मुखिया आउट हुन पुग्दा निर्धारित ओभरमा राप्तीले ८ विकेट गुमाएर १४३ रन बनायो । नारायणीका लागि सहाव आलमले तीन तथा सुशन भारीले दुई विकेट लिए ।