अछाम २२ असार अछाम
विप्लव निकट नेपाल कम्यूनिष्ट पार्टीले अछामका १२ वटा वडा कार्यालयमा तालाबन्दि गरेको छ । पार्टीको सेती महाँकाली ब्यूरोका नाममा बिभिन्न स्थानीय तहका वडाहरुमा तालाबन्दि गरिएको हो ।

मंगलसैन नगरपालिकाको वडानम्वर १ कुन्ती, १३ बस्ती, ढकारी गाउँपालिकाको वडानम्वर २ हिच्मा, तुर्माखाद गाउँपालिकाको वडानम्वर २ भुलु र ७ तोषि, पञ्चदेवल बिनायक नगरपालिकाको कालेकाँडा, बाराला, लयाँटी र पुल्लेतोला तथा रामारोशन गाउँपालिकाको वडानम्वर ३ शान्तडा, ४ बाटुलसैन र ६ भटाकाटियाका वडा कार्यालयमा तालाबन्दि गरिएको विप्लव समूह निकट श्रोतले जानकारी दिएको छ ।
“पार्टीको घोषित नीति अन्र्तगत असार २२ गते सरकारी कार्यालयमा तालाबन्दि गर्ने कार्यक्रम अनुरुप पहिलो चरणमा वडा कार्यालयहरुमा तालाबन्दि गरिएको हो ।” श्रोतले भन्यो । यता मंगलसैन नगरपालिका वडानम्वर १ का वडा अध्यक्ष गोपाल थापाले कार्यलयको ताला तोडेर छुट्टै ताला झुण्ड्यायको जानकारी दिनुभएको छ ।
वडा कार्यालयमा तालाबन्दि कसले र कतिबेला गरेको हो भन्ने जानकारी नभएको भन्दै थापाले राती नै लगाएको हुनसक्ने बताउँनुभयो ।
“वडा कार्यालयको ताला तोडेर नजिकै फालिएको छ, र अर्को ताला लगाईएको छ ।” वडा अध्यक्ष थापाले भन्नुभयो “संगै दलाल पुजीवादी संसदीय ब्यावस्था अन्त्य गरौं, सामाजिक दलाल पुजीवादी सरकार खारेज गरौं, नेपाल कम्यूनिष्ट पार्टी सेती महाँकाली ब्यूरो भनेर पर्चा टाँसिएको छ ।”
वडा अध्यक्षको कार्यकक्ष रहेको कोठामा तालाबन्दि गरिएको रामारोशन ३ का अध्यक्ष ताराबहादुर साउदले पनि जानकारी दिनुभयो । लुकेरै तालाबन्दि गरिनु राम्रो नभएको भन्दै तालाबन्दि गर्ने पक्षलाई पत्ता लगाईने उहाँले बताँउनुभयो ।
आफुहरुले त्यस्तो नराम्रो नगरेको भन्दै अध्यक्ष साउदले एकाएक तालाबन्दि गरेको देख्दा असुरक्षा बढेको महसुस भएको बताँउनुभयो । ‘दलाल पुजीवादी सरकारका बिरुद्ध लगाईएको तालाबन्दि खोलिएमा सम्वन्धित ब्याक्तिनै जिम्मावर हुनेछ’ भनेर धम्किपूर्ण रुपमा लेखिएको समेत गरिएको वडा अध्यक्ष साउदले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले भने अहिलेसम्म पञ्चदेवल बिनायक नगरपालिकाको पुल्लेतोला स्थित वडा कार्यालयमा तालाबन्दि भएको खबर प्राप्त भएको र प्रहरी पठाएर ताला खोलिने जानकारी दिनुभयो ।
विप्लव निकट नेपाल कम्यूनिष्ट पार्टी अछामले १२ वटा वडा कार्यालयमा तालाबन्दि गरेको भनेपनि ककति वडा कार्यालयमा तालाबन्दि भएको हो भन्ने कुरा एकिन भएको छैन ।