काठमाडौं, १७ माघ : चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप)को उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । फाइनलमा शनिबार एपीएफलाई ३३ रनले हराउँदै आर्मीले पहिलो पटक पीएम कपको उपाधि जितेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको २ सय १२ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको एपीएफले ४३.३ ओभरमा सबै विकेट गुमाएर १ सय ७८ रन मात्र बनाउन सक्यो ।

उसका लागि आशिफ शेखले ६१, सन्दीप जोराले २९, सुमित महर्जनले १९, शंकर रानाले २१, सुवास खकुरेलले १४ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बलिङमा बिक्रम सोब, जितेन्द्र मुखिया, साहब आलमले तीन/तीन र सुशान भारीले एक विकेट लिए ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ११ रन बनायो ।
उसका लागि हरि चौहानले अर्धशतक बनाए । उनले १०६ बलमा ६ चौकाको मद्दतमा ५८ रन बनाए ।

त्यस्तै, राजेश पुलामीले २८, लोकेश बमले १५, सुशान भारी, रोहित पौडेलले १३/१३, अनिल मण्डलले ११, भीम सार्की, कप्तान विनोद भण्डारीले सातरसात, साहब आलमले अविजित २५ र बिक्रम सोबले ११ रनको योगदान दिए ।

बलिङमा अविनाश बोहराले १० ओभरमा दुई मेडनसहित २५ रन दिएर महत्वपूर्ण चार विकेट लिए । उनले अनिल मण्डल, हरि चौहान, भीम सार्की र लोकश बमलाई आउट गरे ।

त्यस्तै, किशोर महतोले दुई, भुवन कार्की, कप्तान शरद भेषवकार र कमलसिंह ऐरीले एक/एक विकेट हात पारे ।