टेकराज भण्डारी, अछाम । एचआईभी संक्रमितहरुलाई पोषण तथा खाद्यान्नका सामग्री वितरण गरिएको छ । मंगलसैन नगरपालिकाको सहयोगमा ६६ जना संक्रमितहरुलाई सामग्री बाँडिएको हो । उनीहरुलाई प्रति व्यक्ति ३० किलोग्राम चामल, २ पोका तेल, २ केजी चना, १ डिब्बा हर्लिक्स र ५ किलोग्राम दाल वितरण गरिएको हो ।
वाक नेपालको सहकार्यमा पोषण तथा खाद्य समाग्री वितरण गरिएको हो । सामग्री वितरण गर्दै मंगलसैन नगपालिकाका प्रमुख पदमबहादुर बोहराले एचआईभी एक रोग भएको र यस अवस्थामा थप खानेकुरा तथा पौष्टिक तत्वको आवश्यक्ता पर्ने कुरालाई ध्यानमा राखेर सामग्री प्रदान गरेको बताउनु भयो ।

बाँकी जीवनलाई सुरक्षित बिताउन आग्रह गर्दै नगरप्रमुख बोहराले सबैलाई माया चाहिने भएकाले संक्रमतिलाई पनि माया, ममता र अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख सरिता उपाध्याय, प्रमुख प्रशाशकीय अधिकृत लोकबहादुर शाही, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन वाक नेपालका कार्यक्रम संयोजक हरिशचन्द्र रावलले गर्नुभएको थियो ।