टेकराज भण्डारी, जेठ २०, अछाम
अछामको षोडशादेवि मावि मंगलसैनमा कक्षा ९ मा अध्ययनरत किशोरीको खोलाले बगाएर ज्यान गएको छ । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ नाडाकी १७ बर्षीया किशोरी रमिता शाहको आईतबार साँझ नुहाएर फर्किने क्रममा चिप्लएर खोलामा खस्दा खोलाले बगाएर ज्यान गएको हो ।

दैलेखको चामुण्डा बिन्द्रासैनी ३ मा यही जेठ ९ गते भागी बिबाह गरेर गएकी रमिताको स्थानीय भौरेखोलामा नुहाएर फर्किने क्रममा चिप्लिएर ज्यान गएको दैलेख प्रहरीले जनाएको छ । पहिलो पटक त्यस ठाउँमा गएकी र दुई खोलाको दोभानमा तल गहिरो दहमा खसेर ज्यान गएको उनका बुवा दिलबहादुर शाहीले बताउनु भयो ।
आफ्नो विद्यालयमा अध्ययनरत छात्राको खोलाले बगाएर ज्यान गएको खबर आएपछि आज मौनधारण गरी विद्यालय विदा गरेर श्रद्धाञ्जली अपर्ण गरिएको षोडशादेवि माविका प्रधानाध्यापक देबेन्द्र दुब्बेले बताउनु भयो । घटनाक्षेत्र अन्य जिल्ला भएकाले यसबारे आफुलाई जानकारी नआएको अछाम प्रहरीले जनाएको छ ।
१० कक्षा अध्ययन गर्दै गरेकी छोरीको ज्यान गएपछि परिवारमा ठुलो पीडा भएको रमिताकी आमा लक्ष्मीको भनाई छ । १० कक्षामा अध्ययन गर्दै गरेकी उनको श्रीमानको घर गएको १० दिन नपुग्दै ज्यान गएको हो ।