होम साउद, अछाम
अछामको साँफेबगर नगरपालिका १२ खप्तडमा निर्माण भएको खप्तड लघुजल विद्युत आयोजनाको सफल परिक्षण गरीएको छ । २०७० देखि निर्माणाधिन अवस्थामा रहेको बिद्युत आयोजनाको सम्पूर्ण काम सम्पन्न भएसंगै सफल परिक्षण गरिएको आयोजना निर्माण उपभोक्ता समितिले जनाएको छ ।

बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको १ करोड २७ लाख ५० हजार, गरीबी निवारण कोषको २५ लाख, २०७० मा तत्कालिन निर्वाचन क्षेत्र विकास कोषबाट १५ लाख, तत्कालिन जिल्ला विकास समिती अछामबाट ५ लाख रुपैँया बिनियोजन भई निर्माण भईरहेको आयोजना हालै सम्पन्न भएको निर्माण उपभोक्त समितीका अध्यक्ष खकेन्द्र कडायतले जानकारी दिनुभयो ।
पछिल्लो समय आयोजनालाई पूर्णता दिनकालागि खप्तड क्षेत्र पर्यटन विकास समितीबाट १४ लाख, साँफेबगर नगरपालिकाबाट १३ लाख, साँफेबगर नगरपालिका १२ नं. वडाबाट ५ लाख २० हजार, पूर्वाधार विकास कार्यक्रम अछाम क्षेत्र नं. १ को (क) बाट १५ लाख, शुदुर पश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयबाट २० लाख बिनियोजन भएको थियो ।
जम्मा २ करोड ४३ लाख ५ हजार ९ सय २ रुपैयाँ लागतमा लघु जलबिद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको कडायतले बताँउनुभयो ।
“बिद्युत गृह, प्रशारण लाईन, आवस्यक मेसीन उपकरण खरिद लगायत सम्पूर्ण ब्यावस्थापन कार्य गरि विद्युत परिक्षण गर्न समेत हामी सफल भएका छौं”, समिति अध्यक्ष कडायतले भन्नुभयो “अझै रकम अभाबका कारण सामग्रि खरिदको उधारो तिर्न सकिएको छैन ।”
लघुजलबिद्युत आयोजनामा विद्युतका पोल, तार र अन्य उपकरण ढुवानी सहित करिब २५ लाख बराबर स्थानीयले जनश्रमदान गरेको जनाईएको छ । विद्युत निर्माण भएसंगै खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय, नेपाली सेनाको व्यरेक, खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालय र २४४ घरधुरीका २ हजार बढी उपभोक्तालाई प्रत्यक्ष लाभ हुने भएको छ ।