ध्रुव बीसी क्षत्री
सेती लोकमार्गको चित्रे मोटरवेल पुल निर्माण सुरु भएको सात वर्षपछि पुरा हुनेभएको छ । अहिले निर्माणको काम धमाधम चलिरहेको छ । सरकारले सार्वजनीक खरीद ऐन सातौ संसोधन मार्फत अधुरै अवस्थामा रहेका ठुला योजनाको काम अबको एकवर्ष भित्र पनि पुरा नगरे निर्माण कम्पनीको इजाजत नै रद्ध गर्ने नीति लिएपछि यो पुलको कामले पनि गति लिएको हो ।

यो पुल निर्माण सम्पन्न भए सेती लोकमार्ग अन्तरगत पर्ने अछाम–डोटी र कैलाली जिल्ला जोडिने छन् । चित्रे पुल निर्माणका लागि ०७० भदौ महिनामा अनक÷नन्देगडा तुलसी दुर्गा जेभीले ५ करोड ६३ लाख १५ हजार रुयैयाँमा २२ महिनाभित्र काम सक्नेगरी ठेक्का लिएको थियो ।
त्यसको तीन वर्षपछि ठेकेदार कम्पनीले यही बजेटमा काम गर्न नसकिने भन्दै निर्माणकार्य बिचमै रोकेपछि साविक जिल्ला प्राविधिक कार्यालय मार्फत फेरी ७१ लाख रुपैयाँ थप गरिएको थियो । ठेकेदारले पटक–पटक काम गरेको जस्तो देखाएर साविक जिल्ला विकास समिति मार्फत अहिलेसम्म साढे चार करोडबढी रकम भुक्तानी लिइसकेको पूर्वाधार विकास कार्यालय साँफेबगरका प्रमुख जंगबहादुर थापाले बताए ।
‘यो पुल निर्माणमा दुबै पक्षको कमजोरी रहेको पाइयो,’ उनले भने,‘अब त्यस्तो हुन दिदैनौं । ०७७ सालको असारअघि जसरी पनि पुल सुचारु गर्छौ ।’ यसअघि जिल्ला समन्वय समिति मातहत रहेको यो पुल गएको बैशाखमा पूर्वाधार विकास कार्यालयलाई हस्तान्त्रण गरिएको थियो ।
त्यस यता विभिन्न समयमा ताकेता गरिएपनि अटेर गर्दै आएका ठेकेदारले सार्वजनीक खरीद ऐन सातौं संसोधनपछि मात्रै पुलको बाँकी काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए । ‘यो पटक त समयमै काम सकिन्छ,’उनले भने,‘हामी पनि निरन्तर निगरानी गरिरहेका छौ । यदि कुनै कारण बिचमा काम रोकिएको देखे अब हामीपनि चुप लागेर बस्दैनौं ।’
पुल निर्माणको कामका लागि फिल्डको जिम्मा लिएको नन्देगडा तुलसी दुर्गा जेभीले अधुरै अवस्थामा काम छाडेर लापरबाही गरेपछि उसकै कारण अन्य साँझेदार कम्पनीहरुको पनि इजाजात रद्ध हुने अवस्था आएपछि पुल निर्माणको मुख्य जिम्मा लिएको अनक कन्ट्रसन काठमाण्डौले समेत प्रतिनिधि खटाएको छ।
अहिले अनक कन्ट्रसनका प्रतिनिधि रामप्रसाद न्यौपाने आफैले काम गराइरहेका छन् । मौसममा ठुलो उतारचढाव नआए ६÷७ महिनाभित्रै काम सक्नेगरी निर्माण भइरहेको न्यौपानेले बताए । तर ढिलोमा आगामी जेठ अघि नै सरकारलाई यो पुल हस्तान्त्रण गर्नेगरी धमाधम काम भइरहेको उनले बताए ।
एक सय मिटर लम्वाईको यो पुलका दुई छेउमा फाउन्डेसन सहितको पिलर र बिचमा ३ पिलर गाडेर ४ वटा स्ल्याब बनाउनु पर्नेछ । अहिले फाउन्डेसनसहितका दुई र अन्य तीन पिलरसहित एउटा स्ल्याब बनिसकेको छ भने अहिले छेउमा आरसीसी गरेर बाँकी रहेका तीन वटा स्ल्याब निर्माणको काम चलिरहेको छ ।
- समन्वय समितिले बढायो निगरानी
चित्रे मोटरवेल पुल निर्माण कार्यमा ढिलाइ भएको भन्दै जिल्ला समन्वय समितिले नियमित अनुगमन सुरु गरेको छ । काममा ढिलासुस्ती हुन नदिन नियमित अनुगमन थालिएको समन्वय समितिका प्रमुख नरबहादुर कुँवरले बताए ।
विभिन्न अनुगमनका क्रममा पहिलो अनुगमनका तुलनामा दोस्रो अनुगमनमा कामको प्रगति अध्ययन गर्ने गरिएको उनले बताए । निर्माण कम्पनीलाई दबाब सिर्जना गर्न अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी, पत्रकार र अन्य सरोकारवालाहरुलाई समेत निरीक्षण गराउने गरिएको छ ।