असार ३, कमलबजार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य भीम रावलले नेकपाले गाउँगाउँमा गरिरहेका कार्यक्रमले नेपाली कांग्रेसले यस अघि गरेका कार्यक्रमको हुँकार समाप्त भएको बताउनु भएको छ । जेठ २५ गते कैलाली कञ्चनपूरबाट जिल्ला कमिटिलाई पूर्णता दिँदै अछाममा पूर्णता पाए पश्चात भैरहेका जनसभाले कार्यकर्तामा उत्साह र उमंगको संचार भएको बताउनु भयो ।
नेकपाको कमलबजारमा भएको बिशाल जनसभा कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता रावलले विगतमा नेपालको संविधान जारी गर्दा भारतले लगाएको नाकाबन्दीलाई नेपाली कांग्रेसले नाकाबन्दी भन्ने समेत आँट नगरेको भन्दै नेपाली कांग्रेसले देश र जनताभन्दा सत्तालाई ठुलो ठान्ने गरेको आरोप लगाउनु भयो ।
कांग्रेसले अधिनायकबादको गीत गाउन पर्दैन भन्दै नेता रावलले उसका नेताहरुले नै अधिनायकवादको नमूना देखाईरहेका बताँउनुभयो । नेकपा जिल्ला कमिटि सदस्य कटक साउँदको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व उपप्रधान, रक्षा तथा गृहमन्त्री समेत रहनुभएका नेता रावलले हालै अछामको जयगढमा आएका भारतीय प्रहरी र उनीहरुका गतिविधिको कडा शब्दमा आपत्ति जनाउनुभयो ।
कुनै पनि स्वतन्त्र देशमा अर्को देशको सेना, प्रहरी आएर कुनैपनि गतिविधि गर्न नपाउने भन्दै यसका बिरुद्ध हरेक देशभक्त नेपालीले जुट्नुपर्ने बताँउनुभयो । नेकपा एमाले र माओवादी केन्द्र एक भएर देशको मुहार फेर्नु मूख्य उद्देश्य रहेको भन्दै अब सबै नगर, गाउँ तथा वडा कमिटिलाई पूर्णता दिईने र गतिविधि प्रभावकारी बनाईने उहाँले बताउनु भयो ।
सरकारले नेपालको साधन श्रोतको उपयोग तथा परिचालन गरी देश विकास र समृद्धि ल्याउन खोजेको तर यसबाट नेपाली कांग्रेस डराएको नेता रावलको आरोप छ । नेता रावलले कमलबजार विमानस्थल संचालनका लागि यस क्षेत्रका सांसद यज्ञ बोगटीले ठुलो पहल गरी बजेटमा पारेको, खानेपानीको व्यवस्थाका लागि ९० लाखको योजना पारेको समेत जानकारी गराँउनुभयो ।
जनसभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शरदसिंह भण्डारीले अब नेकपाले गाउँ, नगर, वडा तहमा कमिटि विस्तार गर्दै अघि बढ्ने र जनताको साथमै रहने बताउनु भयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अछाम जिल्ला कमिटि अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य शेर बहादुर कुँवरले असली अधिनायकवाद नेपाली कांग्रेसले नेतृत्व गरेका स्थानीय तहमा रहेको भन्दै सोमबार ढकारीमा नेकपा प्रवेश गरेका कार्यकर्तामाथि हातपात गरेकोप्रति घोर आपत्ति प्रकट गर्नुभयो ।
कार्यक्रममा अछाम क्षेत्र नम्बर २ का सांसद यज्ञ बोगटी, प्रदेश कमिटि सदस्य तथा प्रदेश सभा सदस्य बलबहादुर सोडारी, प्रदेश कमिटि सदस्य भरत साउँद, दिपक साउँद, केशर साउँद, नन्नदसिंह कडायत, बमबहादुर रावत, जोरासिंह विष्ट, शंकर भण्डारी, जिल्ला सचिव झपट साउँद, पूर्व प्रदेश कमिटि सदस्य बमबहादुर विसी, प्रदेश सभा सदस्य दुर्गा विक, जिल्ला कमिटि सदस्य शिवप्रसाद उपाध्याय,
दिपक अधिकारी, चन्द्र बोहरा, लोगबहादुर बोगटी, बलबहादुर कुँवर, खडकसिंह भण्डारी, शेरबहादुर बुढा, मोतिकला चलाउने, मना अधिकारी, नमराज न्यौपाने, ललित सिंह ढोली, अनेरास्ववियूका निरक शाही लगायतले मन्तब्य राख्नुभएको थियो ।
जिल्ला कमिटि सदस्य शारदा कुँवरले स्वागत गर्नुभएको कार्यक्रमको संचालन जिल्ला सदस्य रण बहादुर विष्टले गर्नुभएको पत्रकार टेकराज भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा समाजवादी पार्टीका जिल्ला संयोजक बालाराम ढकाल, नेपाली कांग्रेस तथा विप्लब माओवादी परित्याग गरी १ सय बढी व्यक्ति नेकपामा प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई नेता रावलले प्रवेश गराउँदै प्रतिबद्ध भएर लाग्न आग्रह गर्नुभयो । नेकपाको जनसभा कार्यक्रम बुधबार अछामको विनायकमा हुने जिल्ला कमिटि सदस्य नमराज न्यौपानेले जानकारी दिनुभयो ।