काठमाडौं, ४ असार । भारतीय ओपनर व्याट्सम्यान शिखर धवन विश्वकप क्रिकेटबाट बाहिरिएका छन् ।
अस्ट्रेलियाविरुद्धको खेलमा औंलामा चोट लागेका कारण शुरुमा तीन खेलमा खेल्न नसक्ने भनिएको थियो । तर उनी पूर्णरुपमा फिट नभएपछि जारी विश्वकपबाट उनलाई बाहिर राखिएको छ ।

अब उनको ठाउँमा ऋषभ पन्त टिममा पर्ने छन् । त्यसका लागि ऋषभ पन्त इंग्ल्याण्ड पुगिसकेका छन् । तर धवन पूर्णरुपमा आउट नभइसकेकाले ऋषभलाई ड्रेसिङरुममा प्रवेश पाएका थिएनन् ।
पाकिस्तानविरुद्ध शिखरले नखेलपछि केएल राहुलसँग मिलेर रोहित शर्माले ओपनिङ गरेका थिए । जसमा उनीहरुले १३६ रनको साझेदारी गर्दै भारतलाई गतिलो शुरुआत दिलाएका थिए । घाइते भएका बेला पनि उनले उत्कृष्ट व्याटिङ गर्दै ११७ रन बनाएका थिए । तर उनी दोस्रो इनिङ्समा फिल्डिङ गर्न नसक्ने भएपछि रविन्द्र जडेजाले फिल्डिङ गरेका थिए ।