जुम्ला – हिमा गाउँपालिका-१ को अगुवाइमा मार्सी धानको रोपाइँ सुरु गरिएको छ । कालीमार्सी र रातीमार्सी धानको संरक्षण गर्न जनप्रतिनिधिहरु नै रोपाइँमा जुटेका छन् ।
सिँजा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गर्ज्याङकोट, पाँचसयलगायत जिल्लाभरी नै रोपाइँ सुरु भएको छ । कृषकहरु अहिले खेतमा लगाइएको जौ काटेर रोपाइँमा व्यस्त छन् ।

हिमा गाउँपालिकाको सेयर गाउँका वडाध्यक्ष वीरबहादर शाही, वडा सदस्यहरु पदबहादुर शाही, रतिमान कामी, बाटुली शाही, कर्मचारी मानबहादुर शाहीसहितको टोलीले मार्सी धानको रोपाइँ सुरुवात गरेको हो ।
‘मार्सी चामल हाम्रो पोसिलो खाना र पहिचानसँग जोडिएको हुनाले यसको सरंक्षण गर्ने उद्देश्यका साथ जिल्लाका सबै स्थानमा जनप्रतिनिधिहरुको सहभागितामा रोपाइँ सुरु गरिएको हो,’ वडाध्यक्ष वीरबहादुर शाहीले भन्नुभयो । यसका साथै विषादी निषेध गर्ने र जैविक मलका उत्पादन गर्न आर्थिक सहयोगका लागि गाउँपालिका र सरोकारवाला निकायहरुसँग पहल गर्ने उहाँले बताउनुभयो ।
पछिल्लो समय मार्सी धानको चामलले बजार पाउन थालेपछि मार्सी धान रोप्ने किसानको संख्या पनि बढेको छ । जेठको पहिलो हप्तादेखि धान रोप्न सुरु गरिएको भए पनि अग्लो स्थानमा भने जेठको अन्तिममा रोपाइँ गर्ने गरिन्छ ।
चिसो मौसमका कारण समयमै धान नरोपे समयमा नपाक्ने भएकाले जेठको पहिलो साताबाटै रोपाइँ सुरु गरिन्छ र असार पहिलो हप्ताभित्रै सक्ने गरी रोपाइँ गरिन्छ । यसैगरी कार्तिकको पहिलो हप्तादेखि दोस्रो हप्तासम्ममा रोपिएको धान भित्र्याउने गरिन्छ । यो धानको उत्पादन कम हुने भए पनि निकै पोषिलो मानिन्छ ।
मार्सी धानको रोपाइँमा गीत गाउँदै नाचेर रमाइलो गर्ने चलन छ । कसैको विवाह र बच्चा भएको समयमा खेतमा चोप्ने चलन पनि छ । जसलाई स्थानीय भाषामा ‘चोपाई’ समेत भनिन्छ ।
यसैगरी विश्वको सर्वाधिक उचाइमा धान फल्ने स्थान पनि जुम्लामा नै पर्दछ । पछिल्लो समय जुम्लामा धान रोपाइँ पनि बढ्दै गएको छ ।